नेशनल इन्स्योरेन्सको दयनीय बन्दै वित्तीय अवस्था, अधिकांश सूचकमा गिरावट

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार वित्तीय सूचांकको अवस्था दयनीय बन्न पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको बीमाकोषमा तीन अर्ब १२ करोड ४८ लाख रुपैयाँ र महाविपत्ती कोषमा तीन करोड २१ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

साथै, समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको नौ महिनामा कम्पनीले ९० करोड छ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन र ३७ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले ४७ करोड एक लाख रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको छ । साथै, यस अवधिमा एक अर्ब २२ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीमा हाल १७ हजार ७३८ वटा बीमा पोलिसी कायम गरेको छ ।













