नेपाल बीमा प्राधिकरणको ५७औं वर्ष प्रवेश अवसरमा विराटनगरमा ‘मेघा रक्तदान’ कार्यक्रम सम्पन्न

३१ बैशाख २०८२, बुधबार २१:२४

बिराटनगर । नेपाल बीमा प्राधिकरणले आफ्नो ५६औं वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा कोशी प्रदेश कार्यालय, विराटनगरले विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरेको छ।
यसै सिलसिलामा मोरङ रेडक्रस सोसाइटी च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

उक्त कार्यक्रममा जीवन, निर्जीवन, लघु बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। बीमा क्षेत्रसँग प्रत्यक्ष रूपमा आबद्ध बीमाकर्मीहरूको संयुक्त प्रयासमा ८१ पिन्ट रगत संकलन भई उल्लेखनीय मानवीय योगदान गरिएको नेपाल बीमा प्राधिकरण विराटनगरका प्रमुख विनोद कुमार पोखरेलले जानकारी दिए ।

पोखरेलले बीमाकर्मीहरू सामाजिक सेवामा समेत समर्पित छन् भन्ने आजको उदाहरणले प्रमाणित गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मण्डलले हालका दिनहरूमा रगतको अभाव गहिरिँदै गएको उल्लेख गर्दै, वैदेशिक रोजगारका कारण युवाशक्ति बाहिरिएको र रक्तदाताको संख्या घट्दै गएको चुनौतीप्रति चिन्ता व्यक्त गरे। यस्ता रक्तदान कार्यक्रमहरूले यथोचित रूपमा राहत पुर्‍याउने भएकाले निरन्तरता दिनु आवश्यक रहेको सुझाव दिए ।

यसै अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले आगामी जेष्ठ १ गते बिहान ८ बजे विराटनगरको तीनपैनीदेखि महेन्द्रचोकसम्म प्रभातफेरी आयोजना गर्ने जानकारी दिएको छ।
बीमा दिवस तथा ५७औं वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिने उक्त प्रभातफेरीले बीमा सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*