दोर्दी खोला जलविद्युतको हकप्रद बाँडफाँड, करीब साढे १९ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले गत चैत १९ देखि वैशाख १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर हिजो वैशाख ३१ गते बाँडफाँड गरेको छ।
कम्पनीले गत माघ १४ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रूपैयाँका दरले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका सबैले माग गरे बमोजिमको ८५ लाख ९५ हजार ९२८ कित्ता हकप्रद शेयर हात पारेका छन्। बाँडफाँडपछि १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बाँकी बसेको छ। यसरी बाँडफाँडमा नपरेको शेयर कम्पनीले लिलाम प्रक्रियाद्वारा सबैले किन्न मिल्ने गरी बिक्रीमा ल्याउनेछ।
साथै आफ्नो हकभन्दा बढी शेयर माग गरेर आवेदन दिने आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम जेठ ४ गतेदेखि कनेक्ट आईपीएसबाट फिर्ता गरिने कम्पनीले जनाएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।













