पूर्वअर्थमन्त्री प्रकासशरणले गरे समाजवादी उन्मुख अर्थव्यवस्थाको विरोध

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले प्रतिनिधिसभामा बोल्दै समाजवाद उन्मुख अर्थनीति र नारामुखी घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
महतले संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने शब्दलाई अर्थहीन ठहर गर्दै केवल शब्दमै मोह देखाएको आरोप लगाए। उनले समाजवाद उन्मुख, सुखी नेपाली, समृद्ध नेपाल जस्ता शब्दावलीले मात्रै मुलुकको समृद्धि नआउने स्पष्ट पारे।
‘समाजवाद उन्मुख यो खाले शब्दबाट या सुखी नेपाली समृद्ध नेपालु शब्दावलीबाट केही हुनेवाला छैन’ महतले भने, ‘यो शब्दमा मात्रै हाम्रो मोह रहेको छ जस्तो लाग्छ। त्यसबाट कुनै प्रमाण आउने वाला छैन।’
उनले वास्तविक अर्थमा समृद्धि ल्याउनका लागि विनियोजन प्रणाली सही हुनुपर्नेमा जोड दिए। कुन वर्ग वा समुदायलाई सहयोगको खाँचो छ भन्ने पहिचान गरेर सामाजिक सुरक्षाका कार्यक्रमहरू लागू गर्नु जरुरी रहेको महतको भनाइ रहेको छ ।
महतले पुँजिगत खर्च समयमै गर्न नसकिएकोप्रति पनि चिन्ता व्यक्त गरे। उनले विदेशी ऋणको प्रयोग पनि ठिक स्थानमा हुन नसकेको औँल्याउँदै भने, ‘अब धेरै अनुदान आउने वाला छैन। अहिले विदेशीहरूको ऋण दिने मान्यतामा ह्रास आइसकेको छ।’













