सुधारिँदो सिमेन्टको वित्तीय चित्रः अब्बल देखिदै शिवम र सर्वोत्तम, कुनमा लगानी सुरक्षित ?

२ जेष्ठ २०८२, शुक्रबार ११:५४

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सिमेन्ट कम्पनीहरुको वित्तीय स्थितिमा उल्लेख्य सुधार देखिएको छ । उत्पादन लागत घट्नु र वित्तीय खर्चमा आएको कटौतीसँगै कम्पनीहरुको नाफामा सुधार देखिएको हो ।

यसअघि लगातार घाटामा रहेका केही कम्पनीहरुले समेत नोक्सानी घटाउन सफल भएका छन् । हाल सूचीकृत चारवटा सिमेन्ट कम्पनीमध्ये दुईवटाले नाफा कमाएका छन् भने अन्य दुईवटा घाटाबाट गुज्रिरहेका छन् । शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्टले मुनाफा आर्जन गरेका छन् भने घोराही सिमेन्ट र सोनापुर मिनरल्स अझै घाटामै छन् । यद्यपि, दुबै घाटामा रहेका कम्पनीको आर्थिक स्थिति गत वर्षको तुलनामा केही सहज बनेको देखिएको छ ।

सर्वोत्तम र शिवम सिमेन्टले सबैभन्दा राम्रो प्रदर्शन गरेको देखिएको छ । कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य रूपमा बढेको छ जसले गर्दा नाफा पनि उचाइमा पुगेको छ । पछिल्लो समयमा कच्चा पदार्थको मूल्यमा आएको गिरावट, निर्माण सामग्रीको मागमा आएको वृद्धिदेखि लिएर उत्पादन क्षमता विस्तारसम्मका कारणले गर्दा कम्पनीहरुको वित्तीय नतिजामा सुधार देखिएको हो ।

नाफामा सर्वोत्तम अघि, दुई कम्पनी ऋणात्मक

नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा अघि देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले आफ्नो नाफा ३९९ प्रतिशतले बढेर ६० करोड ३० लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ७ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसअवधिमा शिवम सिमेन्टले समेत ४० करोड ५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको सोहि अवधिको तुलनामा भने ९६.०८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मा सोनापुर ७ करोड ५९ लाख र घोेराही ५५ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।

प्रतिशेयर आम्दानीमा पनि सर्वोत्तम नै नम्बर वान

चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको सर्वोत्तम प्रतिशेयर आम्दानीमा समेत नम्बर वानमा रहेको छ । चालु आवको ९ महिनामा कम्पनीको प्रतिशेयर आम्दानी १६.१६ रुपैयाँ रहेको छ ।

शिवमको प्रतिशेयर आम्दानी ९.७९ रुपैयाँ रहेको छ । साथै, अन्य दुई कम्पनीको भने ऋणात्मक अवस्थामा रहेको छ । प्रतिशेयर आम्दानीमा सोनापुरको २.४७ रुपैयाँ ऋणात्मक र घोराहीको १२.१४ रुपैयाँ ऋणात्मक रहेको छ ।

चुक्तापुँजी कसको कति ?

चुक्तापुँजी धेरै हुनेमा शिवम सिमेन्ट पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५५ प्रतिशतले बढी हो ।

यता, चालु आवको ९ महिनामा सर्वोत्तमको चुक्तापुँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । चार कम्पनी मध्ये धेरै चुक्तापुँजी हुने सर्वोत्तम दोस्रो हो ।

साथै, घोराहीको चुक्तापुँजी ४ अर्ब ५६ करोड रुपैयाँ र सोनापुरको ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

उत्पादन बिक्रीबाट हुने आम्दानी

उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने सर्वाेत्तमको ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको तुलनामा भने ४९.४० प्रतिशतले बढी हो ।

त्यस्तै, शिवम सिमेन्टको ५ अर्ब ३९ करोड, घोराहीको ३ अर्ब ५२ र सोनापुरको १ अर्ब ७६ करोड रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी भएको छ ।

जगेडा कोष

जगेडा कोषमा सर्वोत्तमको ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ । यो चार सिमेन्ट मध्यकै सबैभन्दा धेरै हो ।

यता, शिवम सिमेन्टको ४ अर्ब ४२ करोड, घोराही सिमेन्टको ४ अर्ब १४ करोड र सोनापुरको २ अर्ब ६४ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।

वित्त खर्च

वित्त खर्च सर्वोत्तमको २२ करोड ७० लाख, सोनापुरको २६ करोड ४३ लाख र शिवमको७४ लाख ९७ हजार रुपैयाँ रहेको छ । यता, घोराही सिमेन्टको भने वित्त खर्च ६८ करोड ८७ लाख लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*