बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको आगामी कार्ययोजना राष्ट्र बैंकको ढाँचा कपी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणकाे वार्षिकाेत्सवकाे अवसरमा अघि सारेकाे याेजना नेपाल राष्ट्र बैंकबाट कपि गरेकाे देखिएकाे छ ।
प्राधिकरणको बार्षिकोत्सको अवसरमा आफ्नो कार्यसञ्चालनलाई नेपाल राष्ट्र बैंकको ढाँचामा लैजाने भन्दै उनले हुबहु खालका अभिव्यक्ति समेत दिएका छन् ।
नयाँ आर्थिक वर्षदेखि लागु गर्नेगरी नयाँ योजना सार्वजनिक समेत गरेका हुन् । नयाँ आर्थिक वर्षदेखि लागु गर्नेगरी नयाँ योजना नेपाल राष्ट्र बैंकको ढाँचा कपी गर्नेमै सीमित भएको देखिएको छ।
कार्यक्रममा प्रस्तुत गरेको योजना अहिले राष्ट्र बैंकले कार्यान्वयन गर्दै आएको व्यवस्थासँग मिल्दोजुल्दो देखिन्छ।
अहिले बीमा प्राधिकरणले गर्ने नियमनहरूको काम विभिन्न निर्देशिकामार्फत गर्दै आएको छ ।अब यी सबै निर्देशनलाई खारेज गरेर एकीकृत निर्देशनमार्फत नियमन गर्ने तयारी गरिएको ओझाले जानकारी दिएका छन् । राष्ट्र बैंकले अहिले आफ्ना सबै निर्देशनलाई एउटै एकीकृत निर्देशिकामा समावेश गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, पूर्वाधार विकास बैंक, भुक्तानी प्रणालीसम्बन्धी सेवाप्रदायक तथा सेवा सञ्चालक संस्थालाई राष्ट्र बैंकले छुट्टाछुट्टै एकीकृत निर्देशनमार्फत नियमन गर्दै आएको छ ।
अध्यक्ष ओझाले यस्तो एकीकृत निर्देशन बनाउने काम अघि बढाइरहेको भन्दै जेठ मसान्तभित्र यसको प्रारम्भिक खाका तयार गर्ने र त्यसलाई आवश्यक समीक्षा गरेर आवश्यक संशोधनसहित नयाँ आर्थिक वर्षदेखि लागु गर्ने तयारी गरिएको ओझाले बताए ।
‘बीमा ऐन–२०७९ र बीमा नियमावली–२०८१ बनेसँगै एउटा बलियो कानुनी आधार सिर्जना भएको छ । विगतदेखि नै पटक पटक छरिएर रहेका निर्देशनलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा छौँ,’ ओझाले भने, ‘साउनदेखि कार्यान्वयन गर्नेगरी पहिलो मस्यौदा यही मसान्तभित्र टुंग्याउने र यसमा आवश्यक संशोधन गरेर साउन १ गतेदेखि एकीकृत निर्देशन ल्याउने चरणमा छौँ ।’
प्राधिकरणले राष्ट्र बैंकको सिको गर्न खोजेको अर्को विषय बीमा नीतिको त्रैमासिक समीक्षा हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । नीति परिमार्जनका लागि त्रैमासिक समीक्षा गर्ने गर्छ । सोहीअनुसार एकीकृत निर्देशनमा संशोधन गर्दै यसको कार्यान्वयन गर्छ । प्राधिकरणले वार्षिक नीति तथा कार्यक्रम जारी गर्ने र यस्तो नीतिको त्रैमासिक समीक्षा गर्ने समेत तयारी गरेको छ । अहिलेसम्म वार्षिक रूपमा नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि त्रैमासिक रूपमा समीक्षाको व्यवस्था थिएन ।
प्राधिकरणले राष्ट्र बैंकबाट सिको गर्न खोजेको विषय भनेको ‘अनुसन्धान शाखा’को हो । अहिले नेपाल राष्ट्र बैंकअन्तर्गत ‘आर्थिक अनुसन्धान विभाग’ रहँदै आएको छ ।
यसले देशको मूल्यको अवस्था एवं वित्तीय, मौद्रिक एवं बाह्य क्षेत्रका सम्बन्धमा अध्ययन अनुसन्धानको काम गर्दै आएको छ । प्राधिकरणभित्र रहेको अनुसन्धान शाखालाई पनि त्यही ढाँचामा अघि बढाउन लागिएको छ । शाखाले बीमा क्षेत्रको बारेमा अनुसन्धान गर्ने र यसको रिपोर्ट मासिक बुलेटिनमार्फत् सार्वजनिक गर्ने उनले बताए ।
‘हाम्रो अनुसन्धान शाखाले प्रत्येक महिना विश्लेषणात्मक काम गर्छ, बीमालेखको विकास लगायतमा पनि अनुसन्धान शाखाले सहयोग गर्छ । यससम्बन्धी नियमित बुलेटिन पनि प्रकाशन गर्ने व्यवस्था गर्छौं,’ उनले भने् ।













