स्याकार ट्रेडिङको व्यापार खस्किँदै: अटो बजारमा होन्डाको पकड कमजोर, स्कुटर बिक्री संकटमा

४ जेष्ठ २०८२, आईतवार १४:०५

काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा लामो समयदेखि एकछत्र प्रभाव जमाएको होन्डा ब्रान्ड अहिले संकटमा परेको छ । नयाँ प्रतिस्पर्धी ब्रान्डहरूको चाप, ग्राहकको बदलिँदो प्राथमिकता र उत्पादनमा विविधताको अभावका कारण होन्डाका सवारीहरू नेपाली बजारमा बिक्री हुनै छोडेका छन् । यसको प्रत्यक्ष असर होन्डाका लागि नेपालमा आधिकारिक वितरकको रूपमा रहेको स्याकार ट्रेडिङ कम्पनीको कारोबारमा देखिएको छ ।

स्याकारको व्यापार निरन्तर ओरालो लागिरहेको इक्रा नेपालले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । इक्रा नेपालका अनुसार स्याकार ट्रेडिङको सञ्चालन आम्दानी पछिल्ला तीन वर्षदेखि घट्दै आएको छ । सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी १५ अर्ब ३५ करोड रुपैयाँ थियो । तर २०२३ मा यो घटेर ९ अर्ब ७१ करोडमा झ¥यो । २०२४ मा पनि आम्दानीले सुधार देखाउन सकेन केवल १० अर्ब ८४ करोडमा सीमित रह्यो । चालु आर्थिक वर्षको आठ महिनामा पनि व्यापारमा उल्लेखनीय सुधार देखिएको छैन । कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब २९ करोड रुपैयाँमा सीमित रहेको छ ।

कम्पनीको सञ्चालन नाफा अनुपात समेत स्थायित्व गुमाउँदै गएको छ । सन् २०२१ मा यो अनुपात १२.१ प्रतिशत रहेकोमा, २०२३ मा घटेर ९.२ प्रतिशतमा झरेको छ । यद्यपि, चालु आर्थिक वर्षको ८ महिनामा यो अनुपात केही सुधार हुँदै १२.६ प्रतिशत पुगेको छ । तर दीर्घकालीन स्थायित्वका दृष्टिकोणले यो सुधार पर्याप्त देखिँदैन ।

स्याकार ट्रेडिङको कुल ऋण र मूर्त सम्पत्तिको अनुपात सन् २०२१ र २०२२ मा १.२ गुणामा थियो । तर २०२३ मा यो ०.६, २०२४ मा ०.३ र हाल ०.२ गुणामा झरेको छ । यस्तै, कम्पनीको बाह्य दायित्वको अनुपात पनि १.५ गुणाबाट घट्दै ०.५ मा पुगेको छ । ऋण घटाएको भए पनि नगद प्रवाह तथा बजारमा टिकिरहने क्षमता अझै बलियो बनाएको छैन ।

सञ्चालन नाफाका आधारमा ऋण भुक्तानी गर्न लाग्ने समय २०२३ मा २.५ गुणा थियो भने हाल ०.५ गुणामा झरेको छ । यस्तै, ब्याज भुक्तानी क्षमताको संकेत गर्ने ब्याज कभर अनुपात २०२३ मा १.९ गुणा थियो भने २०२४ मा ४.६ र चालु आवको ८ महिनामा ६.९ मा सुधार देखिएको छ । कुल ऋण भुक्तानी क्षमता पनि हाल ४.८ मा पुगेको छ ।

कम्पनीको कार्यशील पूँजी पनि घट्दै गएको छ । सन् २०२१ मा सञ्चालन आम्दानीको ३७ प्रतिशत रहेको कार्यशील पूँजी चालु आवको आठ महिनामा घटेर २० प्रतिशतमा झरेको छ । यस्तै, वर्तमान अनुपात भने १.३ गुणाबाट बढेर २.४ मा पुगेको छ ।

नेपालको दुईपाङ्ग्रे सवारी बजारमा अहिले बजाज, यामाहा, टीभीएसजस्ता ब्रान्डहरूले आफ्नो उपस्थिति मजबुत बनाइरहेका छन् । विशेषतः स्कुटर बजारमा टीभीएसले ल्याएका नयाँ मोडलहरूले होन्डालाई पछाडि पारेका छन् । त्यसका साथै इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधनको बढ्दो लोकप्रियता होन्डाका लागि अर्को चुनौती बनेको छ ।

चुनौतीपूर्ण अवस्थामा स्याकारको उत्पादनमा एकै खालको सामानमा अत्यधिक निर्भरता (उत्पादन केन्द्रित जोखिम) देखिएको छ । कम्पनीको कुल आम्दानीमा स्कुटरको हिस्सा आ.व. २०८०/८१ मा ६५ प्रतिशत थियो, जुन अघिल्लो वर्षमा ६६ प्रतिशत थियो । स्कुटर भित्र पनि कम्पनीले डिओ ११० र डिओ १२५ मा अत्यधिक निर्भरता राखेको छ । एउटै मोडलमा उच्च निर्भरता हुनु बजारको प्रतिकूल परिस्थितिमा कम्पनीलाई गम्भीर जोखिममा परेको छ ।

होन्डा नेपाली बजारमा विश्वासिलो ब्रान्डका रूपमा परिचित थियो । तर पछिल्ला वर्षमा गुणस्तर, सेवा, मूल्य र विकल्पको हिसाबले अन्य ब्रान्डहरूले होन्डालाई पछि पार्न थालेका छन् । नयाँ पुस्ताका ग्राहक इलेक्ट्रिक र स्टाइलिश मोडलतर्फ आकर्षित छन्, जुन पक्षमा होन्डाले अपेक्षित कदम चाल्न सकेको छैन । ग्राहकको नजरमा होन्डाको नवीनता हराउँदै गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*