३४ अर्बको बीमा पोलिसी भएन नविकरण, प्राधिकरणको छैन चासो

काठमाडौं । नेपाली बीमा बजारमा ३४ अर्ब तीन करोड ७१ लाख रुपैयाँ बराबरको जीवन बीमालेख व्यतित भएका छन् । जीवन बीमा कम्पनीहरुमा सो वापतको बीमालेख व्यतित भएको महालेखा परीक्षकको कार्यालयले सार्वजकि गरेको ६२ औं बार्षिक प्रतिवेदनमा देखिएको छ ।
२०८१ असारसम्म नेपाली बीमा बजारमा सो रकम बराबरको बीमालेख नविकरण नभई व्यतित भई बसेको देखिएको छ।
सामान्यतले पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधी तोकेर जीवन बीमा गरिन्छ । एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बाहेक बीमितले त्यस्ता बीमामा हरेक बर्ष बीमा शुल्कको किस्ता तिर्नुपर्छ ।
त्यो किस्ता नतिरेमा बीमालेख नविकरण हुँदैन । त्यस्तो बीमालेख व्यतित अर्थात् ल्याप्स भएर बसेको हुन्छ । बीमितले पहिला तिरेको पैसा कम्पनीमा सुरक्षित रहन्छ । तर, ल्याप्स भएको मितिदेखि उक्त बीमा लेखले बिमितको जोखिम भने सुरक्षण गर्दैन । बीमितले कुनै पनि बेला बक्यौता तिरेर त्यस्तो पोलिसी नविकरण गर्न भने सक्छन् ।
बीमा गरेको तीन बर्षपछि बीमाालेख सरेन्डर नै गर्न मिल्छ । त्यस्तो प्रवृत्ति नेपालमा बढ्दै पनि गएको छ । बीमालेख सरेन्डर गर्दा बीमितले आफ्नो पैसा पनि फिर्ता पाउछन् । तर, बीमितले पोलिसी सरेन्डर पनि नगर्ने र नवीकरण पनि नगर्ने समस्या पनि उत्तिकै देखिएको छ ।
महालेखाकाअनुसार अहिले नविकरण नभएर बसेका बीमा लेखको संख्या ११ लाख ५८ लाख २९९ रहेको छ । ‘गत वर्ष (आव २०७९–८०) मा १२ लाख ५ हजार ७४ व्यतीत बिमालेख रहेकोमा यो वर्ष (आव २०८०–८१ ) मा ३.८८ प्रतिशतले कम भई ११ लाख ५८ हजार २९९ भए तापनि यसको रकम भने गत वर्ष ३३ अर्ब ९५ करोड एक लाख रहेकोमा यो वर्ष ०.२६ प्रतिशतले वृद्धि भई ३४ अर्ब ३ करोड ७१ लाख पुगेको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
महालेखाले गत आवमा समर्पण पनि बढेको बताएको छ । ‘गत वर्ष (आज २०७९–८०) मा १४ जीवन बीमा कम्पनीबाट जारी भएका ९६ हजार ९३८ बीमा लेखको समर्पण भएकोमा यो वर्ष १७.५८ प्रतिशतले वृद्धि भई १ लाख १३ हजार ९७६ पुगेको छ । समर्पण मूल्य गत वर्ष १३ अर्ब ३४ करोड ३४ लाख रहेकोमा यो वर्ष ८.६८ प्रतिशतले वृद्धि भई १४ अर्ब ५० करोड १३ लाख रहेको छ । बिमालेखको समर्पण दर वृद्धि हुनुको कारण पहिचान गरी समाधान गर्नेतर्फ नेपाल बीमा प्राधिकरणले ध्यान दिनुपर्दछ,’ महालेखाले प्रतिवेदनमा लेखेको छ ।













