बीमा प्राधिकरणद्वारा आयोजित निबन्ध प्रतियोगिताका सात विजेतालाई जनही २० हजार रुपैयाँ पुरस्कार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा विजयी सात जनालाई पुरस्कार वितरण गरेको छ।
“गरिबी न्यूनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व” भन्ने शीर्षकमा भएको प्रतियोगितामा देशभरका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भाग लिएका थिए।

कुल ८९ वटा निबन्धमध्येबाट विषयवस्तु, सान्दर्भिकता, मौलिकता र भाषागत शुद्धताका आधारमा सात वटा उत्कृष्ट निबन्ध छानिएको थियो। हरेक प्रदेशबाट एकएक जना गरी सात जना विजेता घोषित गरिएका हुन्।
प्रत्येक विजेतालाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा सम्बन्धित प्रदेश कार्यालयमार्फत पुरस्कार वितरण गरिएको हो।

बागमती प्रदेशका विजेतालाई भने प्राधिकरणको केन्द्रीय कार्यालय, ललितपुरमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष शरद ओझाले नगद र प्रमाणपत्र प्रदान गरेका छन्।
विजेता विद्यार्थीहरूमा विभिन्न क्याम्पसमा अध्ययनरत क्रमशः विराटनगरका धनराज शाह, वीरगञ्जी कविता कुमारी यादव, भक्तपुरका दिल बहादुर भण्डारी, पोखराकी कुसुम क्षेत्री, बुटवलकी निरा अधिकारी, सुर्खेतकी तारा कुमारी मल्ल र धनगढीकी दिव्या पन्त रहेकी छिन्।

बीमा प्राधिकरणले यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा बीमा शिक्षा र साक्षरता फैलाउने र बीमालाई जोखिम व्यवस्थापनको महत्त्वपूर्ण साधनको रूपमा बुझ्न प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।















