प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका राजदूतहरूको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनका राजदूतहरूले सोमबार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचारको रूपमा भेट गरिएको हो।
भेटमा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको सहित काठमाडौँमा कार्यरत विभिन्न युरोपेली देशका राजदूतहरू र भारतस्थित युरोपेली गैरआवासीय राजदूतहरूको पनि सहभागिता थियो।
युरोपियन युनियनका धेरैजना राजदूतहरू एउटै कार्यक्रममा भाग लिन पहिलो पटक नेपाल आएका हुन्। उनीहरू सगरमाथा संवादमा भाग लिन नेपाल आएका थिए।
भेटमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्ष लामो सम्बन्धको स्मरण सहित प्रधानमन्त्री ओलीले नेपालमा भएको परिवर्तन, शान्तिपूर्ण आन्दोलन, संविधान निर्माण र अहिलेको आर्थिक विकास लगायतका विषयमा कुरा गर्दै सहकार्यका लागि आग्रह गरे।
ओलिले एमाले र नेपाली कांग्रेस मिलेर बनाएको सरकार आर्थिक समृद्धि र रोजगारी सिर्जनामा गम्भीर रहेको बताउँदै लगानी बढाउन युरोपेली पक्षलाई आग्रह समेत गरे।
प्रधानमन्त्रीले नेपाल अब स्थायित्व र समृद्धितर्फ अघि बढिरहेको, लोकतान्त्रिक प्रणालीबाट पछि फर्किने सम्भावना नरहेको र भारत तथा चीन लगायत अन्य मुलुकसँग सन्तुलित सम्बन्ध रहने कुरामा जोड दिए।
युरोपियन युनियनका राजदूतहरूले नेपालसँग शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग गर्दै आइरहेको र भविष्यमा पनि साथ दिने बताए।
उनीहरूले सगरमाथा संवादको सफल आयोजना र संक्रमणकालीन न्यायको प्रक्रियामा भएका प्रगतिको स्वागत गरे। साथै पीडितको हक अधिकारलाई केन्द्रमा राख्न आग्रह पनि गरे।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी थिए।













