बिहिवारसम्म नयाँ गभर्नर नियुक्त गर्ने प्रम ओलीको प्रतिबद्धता !, सत्ता गठबन्धनमा खटपट परेकै हो ?

६ जेष्ठ २०८२, मंगलवार १२:३०

काठमाडौं । नेपालका ठूला व्यापारीहरुले अनाधिकृत रुपमा बैंकहरुबाट अर्र्बाै रुपैयाँ ऋणको असर गभर्नर नियुक्तीमा प्रत्यक्ष रुपमा परेको छ । सबै व्यापारीहरुले सेटिङमा लिएको ऋण आगामी पाँच बर्षसम्मको लागि सुनिश्चित बनाउन व्यापारिक समुहरुले आफू अनुकूलको गभर्नर नियुक्तीका लागि चरम राजनीतिक दुरुपयोग गर्दा विगत दुई महिना भन्दा लामो समयदेखि नयाँ गभर्नर नियुक्ती हुन सकिरहेको छैन ।

यही बीचमा नेपाल राष्ट्र बैंकका दुई क्षमतावान निर्देशक डा. प्रकाश श्रेष्ठ र डा. गुणाकर भट्ट गभर्नर बन्ने धुनमा जागिर समेत गुमाइसकेका छन् । पछिल्लो पटक कांग्रेसले अघि सारेको विश्व पौडेलका विरुद्धमा पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि नयाँ गभर्नर नियुक्ती प्रक्रिया जटिल मोडमा पुगेको छ । सरकार दुई तिहाई बहुमतबाट बनेको भएपनि व्यापारिक स्वार्थका कारण गभर्नर नियुक्ती गर्नै नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली फेससेभ गर्न समेत नसक्ने अवस्थामा पुगेका छन् । पछिल्लो पटक आजको लागि संसदमा राखिएको प्रश्नोत्तर कार्यक्रम समेत स्वास्थ्यको कारण देखाएर स्थगित गरिएको छ ।

सत्ता गठबन्धनमा खटपट परेको चर्चाकै बीचमा आजै विहान पनि प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको छ । आजको भेटवार्तामा गभर्नरमा नयाँ नाम सिफारिस गरेको विश्वास गरिएको छ । प्रम ओलीले विश्व पौडेललाई नियुक्त गर्न नसक्ने स्पष्ट सन्देश देउवालाई दिएको र नयाँ नाम लिएर छिट्टै नियुक्ती गर्ने सहमति भएको बुझिएको छ ।

पछिल्लो पटकको राजनीतिक घटनाक्रम अनुसार गभर्नर नियुक्तीको बिषयलाई लिएर सत्ता गठबन्धनभित्रै खटपट भएको समेत चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई पार्टीका शिर्ष नेताहरुबीच बारम्बार मध्यरातमा बैठक बस्दा पनि निक्यौल निकाल्न सकेका छैन ।

हिजो साँझ मन्त्रिपरिषद्को बैठक स्थगित नै गरेर दुबैबीच भेटवार्ता हुनुलाई केही बिशेष कारणको रुपमा हेरिएको छ । यतिमात्र नभई प्रधामन्त्री ओलीले अर्थमन्त्री बिष्णु पौडेललाई संयोजक समितिको बैठक मन्त्रिपरिषदको बैठक अघि डाक्न समेत निर्देशन दिएको थियो । कांग्रेसका सभापति देउवासँगको आकस्मित बैठकको कारण प्रधानमन्त्री ओलीले नै संयोजक समितिको बैठक नबोलाउन निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्री ओली र सत्ता गठबन्धन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीचको हिजोको भेटवार्तामा प्रम ओलीले कांग्रेसको भागमा परेको गभर्नर पदमा सभापति देउवाले भनेकै उम्मेदवारलाई दुई तीन दिनभित्रमा नियुक्त गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । बीमापोष्टलाई उच्च तहको स्रोतले जनाए अनुसार प्रम ओलीलाई देउवाले कांग्रेसको तर्फबाट एक जनाको नाम दिइएको र सोही व्यक्तिलाई गभर्नर बनाउनुपर्ने गरी सहमति भएको जनाइएको छ ।
उता, गभर्नर नियुक्ती सम्बन्धी एउटा मुद्दामा आज सर्वोच्च अदालतमा मुद्दा पेशीमा चढेको छ । सो मुद्दामा आजै अर्थमन्त्रालयको मापदण्ड बमोजिमको प्रक्रिया अनुसार गभर्नर नियुक्ती गर्नु भन्ने आदेश आउन सक्ने समेत सम्भावना रहेको छ । त्यस्तो अवस्थामा सरकारले नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।

एकातिर प्रधानमन्त्रीले सत्ता गठबन्धन दल समक्ष प्रतिबद्धता जनाउने अर्कोतर्फ नियुक्त नहुने क्रम बैशाखदेखि नै चल्दै आएको हो । नेपाली कांग्रेसको तर्फबाट विवादित र योग्यता नै नपुगेको व्यक्तिको नाम सिफारिस भएकोले प्रधानमन्त्रीलाई गभर्नर नियुक्त गर्न अप्ठेरो परिरहेको देखिएको छ ।

गभर्नर नियुक्ती तत्काल नभए नेपाली कांग्रेसले प्रम ओलीलाई बजेट अघि नै अप्ठेरोमा पार्ने रणनीतिमा रहेको देखिन्छ । कांग्रेस र एमाले बीचको मुलुकका दुई सबैभन्दा ठूला दलको सत्ता गठबन्धनले एक थान गभर्नर नियुक्त गर्न समेत निकै कडा मेहनत गर्नुपर्ने अवस्था सिर्जना हुन पुगेको छ ।

गठबन्धन सहज रुपमा अघि नबढेको नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाशशरण महतले समेत एक सार्वजनिक कार्यक्रममा स्वीकार गरेका छन् । सोमबार नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धनमा आफूहरूका धेरै असन्तुष्टि रहेको बताए । उनले भने, ‘गठबन्धनमा अर्काको प्वाइन्ट अफ भ्युलाई अन्डरस्ट्यान्ड हुनुपर्छ, अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ । अन्योल छ, यसले राम्रो सन्देश गएको छैन ।’

उता नेपाली काग्रेसका महामन्त्री गगन थापाले पनि सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री ओलीविरुद्ध विचौलियाको काखमा बसेर सत्ता चलाएको भन्दै कडा अभिव्यक्ति दिँदै आईरहेका छन् ।

पछिल्लो समय नेपाली कांग्रेसलाई सरकारबाट बाहिर निस्कन दवाव बढिरहेको छ । ‘नेकपा एमालेसँग लामो समय काम गर्न सकिँदैन भनी कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै होइन, अधिकांश नेताले मन बनाइसकेका छन्,’ कांग्रेसका एक नेताले भने, ‘तर कांग्रेससँग एमालेको भरपर्दो विकल्प पनि तयार भइसकेको छैन ।’ गठबन्धन फेर्न देउवाले प्रयास नगरेका होइनन् तर उनले विश्वासिलो मत पाउने निश्चित नदेखिँदा रोकिएको एक नेताको भनाइ छ ।

सोमबारको नियमित मन्त्रिपरिषदको बैठक स्थगित भएकोबारे स्वयम् मन्त्रीहरु नै आश्चर्यचकित परेका थिए । ओली र देउवाबीचको भेटवार्तापछि मन्त्रिपरिषद् बस्ने खबर आउन सक्ने कारण मन्त्रीहरू सतर्क भएर बसेका थिए । तर, साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकको खबर मन्त्रीहरूसम्म पुगेन । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका थिए ।

स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठक रोकेर सभापति देउवासँग भेटवार्ता तय गरिनुको प्रयोजन नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिबारे छलफल थियो । कांग्रेस स्रोतका अनुसार ओलीसँग भेटवार्ता गर्न बालुवाटार नगएका देउवाले आफू निकट नेताहरूसँग संवाद गरेका छन् । त्यसपछि कांग्रेसका केही पदाधिकारी र मन्त्रीहरू छलफलमा राति अबेरसम्म छलफलमा बसेका छन् । कांग्रेस स्रोतका अनुसार, उपसभापति पूर्णबहादुर खड्काको निवासमा महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक लगायत छलफलमा बसेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*