नेपाली भाषामा डोमेन भएको पहिलो वेबसाइट सार्वजनिक गर्दै ‘यूए ह्याकाथन नेपाल २०२५’ सम्पन्न

७ जेष्ठ २०८२, बुधबार ०८:४०

काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ।

कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र इन्टरनेट डोमेन व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा शनिबार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘क्यान.संगठन’ वेबसाइटले नेपाली भाषामा डोमेन नाम र इमेल ठेगाना प्रयोगको सम्भावना औपचारिक रूपमा शुरू गरेको छ। यसले सरकारी तथा सार्वजनिक सेवा प्रणालीमा नेपाली भाषाको प्रयोगलाई थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

यूएको अवधारणाअनुसार इन्टरनेटमा प्रयोग हुने सबै प्रणालीले जुनसुकै भाषामा बनेको डोमेन नाम र इमेल ठेगाना स्वीकार गर्न सक्नुपर्छ। यस्तो प्रणालीलाई यूए–रेडी भनिन्छ र यसले आफ्नै भाषामा इन्टरनेट प्रयोग गर्न चाहनेका लागि उपयुक्त हुन्छ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली भाषामा डोमेन प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण मात्र नभएर डिजिटल नेपाल निर्माणमा समेत सहयोग पुर्‍याउने उल्लेख गरिन्। उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन भइरहेको, कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी नीति अन्तिम चरणमा रहेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिइन्।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करीब ७० प्रतिशत नेपाली अझै इन्टरनेटबाट टाढा रहेको भन्दै नेपाली भाषामा डोमेन र इमेल ठेगाना उपलब्ध भएपछि ती नागरिकहरूलाई डिजिटल सेवा पहुँचमा ल्याउन सहज हुने बताए।

युनेस्को नेपालका प्रमुख जाको डु तोइतले यूएको अवधारणा युनेस्कोको बहुभाषिक सिफारिससँग मेल खाने बताउँदै नेपालमा यसको कार्यान्वयनका लागि युनेस्को तयार रहेको स्पष्ट पारे।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले नेपाली भाषाको कम्प्युटिङ यात्रा अहिले नयाँ चरणमा प्रवेश गरेको बताइन्। उनले विगतमा गरिएको नेपाली भाषा मापदण्ड विकास, स्पेल चेकर निर्माणजस्ता प्रयासको स्मरण गर्दै अहिलेको उपलब्धिलाई अर्को ऐतिहासिक माइलस्टोनका रूपमा वर्णन गरिन्।

कार्यक्रम सूचना प्रविधि विभाग, युनेस्को, एपीएनआईसी, नेपाल इन्टरनेट एक्सचेन्ज, वल्र्डलिंक कम्युनिकेसन्स, माभोरियन सिस्टम, हिकोल कलेज र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो।

नेपाल इन्टरनेट एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत रुपेश श्रेष्ठले नेपाली भाषामा आधारित डोमेन तथा सर्भरमार्फत सेवा सञ्चालन गर्दा स्क्याम नियन्त्रण हुने र प्रणालीको प्रमाणिकता बढ्ने बताए। साथै उनले डटएनपी डोमेनलाई पनि नेपाली भाषामै ल्याउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका अन्य वक्ताहरूले भविष्यमा सरकारी तथा निजी क्षेत्रका वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने योजना रहेको जानकारी गराए।

यूए ह्याकाथन नेपालका टिम लिड बिबेक सिलवालले डोमेन नाम र वेबसाइटसम्म पुग्न प्रयोग हुने कीवर्डहरू समेत नेपाली भाषामै सम्भव छन् भन्ने सन्देश दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। उनले नेपाली भाषाको डोमेनको शुरूवातलाई डोमेन उद्योगका लागि ऐतिहासिक माइलस्टोन भनेका छन्।

कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा करीब १०० जना नीति निर्माता, सरोकारवाला र प्रविधिमा चासो राख्ने व्यक्ति सहभागी थिए भने दोस्रो सत्रमा करीब ४० जना युवाहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र प्रयोग अभ्यास गरेका थिए।

कार्यक्रम प्रत्यक्ष रूपमा क्यान महासंघको वेबसाइटमा प्रशारण गरिएको थियो भने जूममार्फत ५० जना सहभागी थिए।

कार्यक्रमका समन्वयक तथा क्यान महासंघका प्रबन्धक उदिप बरालले कार्यक्रमले आफ्ना उद्देश्यहरू हासिल गरेको भन्दै सन्तोष व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीले कार्यक्रमको प्रभावकारिता थप व्यापक बनाएको उल्लेख गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*