सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबारमा ४९ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारमा करिब ४९ प्रतिशत वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ। मङ्गलबार सार्वजनिक गरिएको ‘वित्तीय जानकारी एकाइको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी शंकास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि देखिएको हो।
प्रतिवेदनअनुसार मनी लाउन्डरिङ निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूबाट प्राप्त शंकास्पद कारोबार रिपोर्ट सन् २०२३ मा ६ हजार २५५ रहेको थियो। तर सन् २०२४ मा यो संख्या झण्डै ४९ प्रतिशतले बढेर ९ हजार ३०४ पुगेको छ।
त्यसमध्ये १ हजार ८९४ प्रतिवेदनको विश्लेषण गरिएको थियो। विश्लेषणपछि १ हजार ८६ प्रतिवेदन अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ भने ८०८ प्रतिवेदन भविष्यमा थप जानकारी आएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ।
साथै सन् २०२४ मा राष्ट्र बैंकमा पेस गरिएका सीमा कारोबार विवरणको संख्या पनि बढेको छ। सन् २०२३ मा १७ लाख ८३ हजार १८३ कारोबार विवरण पेस गरिएकोमा सन् २०२४ मा यो संख्या बढेर १९ लाख ७२ हजार ८५५ पुगेको छ।
प्रतिवेदनमा राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्था, अनुसन्धान निकाय र नियामक निकायहरूको संख्या पनि बढेको उल्लेख छ। सन् २०२३ को अन्त्यमा १ हजार ४९६ रहेको यो संख्या सन् २०२४ को अन्त्यसम्ममा १ हजार ९०५ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।













