३१ सय घनमिटर निर्मित सडकलाई ६६ सय घनमिटर देखाएर २३ लाख हिनामिना, ११ जना विरुद्ध मुद्दा

काठमाडौं । मुगुको सोरु गाउँपालिकामा भएको सडक निर्माण योजनामा २३ लाख रूपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
आर्थिक वर्ष ०७७/७८ मा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत सोरु गाउँपालिका वडा नम्बर १० मा शहीदगेटदेखि कोटसम्मको सडक निर्माण गर्ने योजना बनेको थियो।
यस योजनाको कुल लागत अनुमान ४३ लाख ९५ हजार रुपैयाँ थियो। तर उपभोक्ता समिति गठन हुनु अघि नै सम्झौता गरेर समितिलाई कामको आदेश दिइएको थियो।
पछि उक्त योजनाअन्तर्गत ६ हजार ६२३.८ घनमिटर सडक संरचना निर्माण भएको उल्लेख गरेर समितिलाई रकम भुक्तानी गरिएको थियो। तर त्यसमा अनियमितता भएको उजूरी अख्तियारमा परेपछि अख्तियारले छानबीन गरेको थियो।
छानबीनमा उक्त योजनाअन्तर्गत जम्मा ३ हजार ११३.०३ घनमिटर मात्रै सडक निर्माण संरचना सम्पन्न भएको पाइएको छ।
अनुसन्धानमा योजना अनुगमन तथा मूल्यांकन समितिले अनुगमन गर्दा भर्नुपर्ने प्रतिवेदन पूर्णरूपमा नभरेरै ३ हजार ५१०.७५ घनमिटर बढी काम गरेको भनेर २३ लाख २२ हजार रूपैयाँ भुक्तानीका लागि सिफारिस गरेको खुलेपछि अख्तियारले बिहीबार ११ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको हो।
बुधबार मात्रै अख्तियारले यस्तै प्रकरणको भ्रष्टाचारको अर्काे मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो।
२९ सय मिटर बनेको सडकलाई ३७ सय मिटर देखाएर २१ लाख बढी भ्रष्टाचार













