बोर्ड अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेलबीच भेटवार्ता, नियामक समन्वय र पूँजी बजार सुधारमा छलफल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग आज शिष्टाचार भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शिष्टाचार भेटका क्रममा देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य हुने कुरामा दुबै पक्षले जोड दिएका छन्।
साथै, पूँजी बजारलाई चलायमान बनाउँदै नयाँ उचाइमा पुर्याउनका लागि लगानीकर्ताहरूबाट समयसमयमा उठ्दै आएका मागहरूलाई उचित रूपमा सम्बोधन गर्ने विषयमा पनि विस्तृत छलफल भएको धितोपत्र बोर्डले जानकारी दिएको छ।












