शेयर बजारमा लगानी बढाउदै बीमा कम्पनी, निर्जिवन भन्दा जीवन बीमा कम्पनीहरुको लगानी बढी

काठमाडौं । शेयर बजारमा बीमा कम्पनीहरुले आफनो लगानी दोब्बरले बढाएको छ ।
तेस्रो त्रैमासमा २४ बीमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको सेयरमा मात्रै ३५ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।
यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ११४।७६ बढेको तथ्यांकले देखाएको छ।
सूचीकृत कम्पनीहरुको सेयरमा १६ अर्ब ५१ करोड ५१ लख रुपैयाँ लगानी गरेका थिए । १ वर्षको अवधिमा बीमा कम्पनीहरुको दोस्रो बजारमा लगानी १८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ बढेको हो ।
सूचीकृत सेयर लगानीमा निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरु बढी लगानी देखिएको छ । एक वर्षमै जीवन बीमा कम्पनीहरुले सूचीकृत साधारण सेयरमा लगानी १०८ प्रतिशत बढाएका छन् । चैत मसान्तसम्म आइपुग्दा निर्जीवन बिमा कम्पनीहरुले सेयर बजारमा ४ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् भने जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९१ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन्।
नेपालको सेयर बजारमा बीमा कम्पनीहरु ठूला संस्थागत लगानीकर्ता हुन् । बिमा कम्पनीहरुले कुल लगानीयोग्य रकमबाट अधिकतम १० प्रतिशत सूचीकृत कम्पनीहरुको सेयरमा लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । सोहीअनुसार लगानी गर्दै आइरहेका छन् र
यता, सेयर बजार अहिले न्यूनतम विन्दुमै छ । अधिकांश व्यक्तिगत लगानीकर्तामात्र सक्रिय हुँदा फन्डामेन्टल कम्पनीहरु चल्न सकेका छैनन् । बिमा कम्पनीलगायत अन्य संस्थागत लगानीकर्ताले आक्रामकरुपमा लगानी गर्न सक्ने हो भने लार्ज क्यापका फन्डामेन्टल कम्पनीहरुले सेयर बजारमा ‘राइज’ गर्न सक्ने देखिन्छ ।
यसका लागि संस्थागत लगानीकर्ताको थप सक्रियता आवश्यक हुन्छ । नीतिनिर्माताबाट पनि थप सहजीकरण आवश्यक हुन्छ । बिमा कम्पनीहरुले गर्ने लगानीले स्टक मार्केटलाई केही हदसम्म स्थिरता प्रदान गर्न सहयोग पुग्छ । बजार घटेका बेला सेयर उठाउने र बढेका बेला बेच्ने हुँदा ठूलो उतारचढाव न्यूनीकरणमा टेवा पुग्दछ ।
अहिले बैंकको ब्याजदर ह्वात्तै घटेको छ । यसकारण पनि बिमा कम्पनीहरुले नियमले मिलेजति सेयर बजारमा लगानी बढाएका हुन् । मिलेसम्म बीमा कम्पनीहरुले बैंक निक्षेप घटाएर सेयर बजारमा लगानी गरिरहेका छन् ।
बीमा कम्पनीहरुलाई सेयर बजारमा लगानीको निश्चित स सीमा तोकिएको हुन्छ । यसैगरी, अन्य क्षेत्रमा पनि लगानीको सीमा निर्धारण गरिएको छ । सोही अनुसार उनीहरुले लगानी गरेका हुन्छन् ।












