बजेटमा पुँजीबजारको कस्ता बिषय समेटिदैछ ?

१२ जेष्ठ २०८२, सोमबार १८:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेको छ । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दोहोरो अंकमा र्पुयाउने तयारी भएको छ ।

सरकारलाई आम्दानी बढाउन दबाब परेका कारण पूँजीगत लाभकर बढाउने तयारी भएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । ‘आगामी आर्थिक वर्षदेखि घरजग्गा र सेयर कारोबारीले तिर्नुपर्ने पूँजीगत लाभकर १० प्रतिशत र्पुयाइने छ,’ स्रोतले भन्यो, ‘अल्पकालीन र दिर्घकालीन सबै लगानीकर्ताका लागि एउटै दर कायम राख्ने तयारी छ।’

आन्तरिक राजस्व विभागको सो प्रस्तावमाथि छलफल भइरहेकाले अन्तिम समयमा पूँजीगत लाभकर अल्पकालीन र दिर्घकालीनलाई फरक हुन सक्ने सम्भावना पनि रहेको स्रोतको भनाइ छ । त्यसो भएमा अल्पकालीन लगानीकर्तालाई १० र दिर्घकालीनलाई ७।५ प्रतिशत हुन सक्नेछ ।

बजेट तयारी भइरहँदा सरकारले नयाँ राजस्वका क्षेत्रहरु खोज्नु भन्दा पनि उठाउँदै आएका करका शिर्षकमा दर वृद्धि गरी आम्दानी बढाउन खोजेको देखिन्छ । सरकारले न्यून स्रोत संकलनका कारण अन्तरिक ऋणलाई पनि चालु खर्चका लागि परिचालन गरेको छ । त्यसले गर्दा पनि राजस्व बढाउन सरकारलाई दबाब छ ।

लगानीकर्ताले भने अहिले सेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर नबढाई हालकै दरलाई अन्तिम भनेर व्याख्या गर्नुपर्ने माग राख्दै आएका छन् ।गत वर्ष विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर कारोबारको नाफामा आयकर ऐन अनुसार कर लगाउन सिफारिस गरेको थियो । यसअनुसार अधिक नाफा कमाउनेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ ।सेयर कारोबारमा व्यक्तिले हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको थियो ।

आयोगको प्रतिवेदनले एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र एक वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७।५ प्रतिशत कायम गर्न सुझाव दिएको थियो ।
सरकारले यसलाई पनि बढाउने सम्भावना रहेको अर्थमन्त्रलय स्रोतको भनाइ छ । सरकारले पनि सोही आयोगको सुझावलाई देखाउदै पूँजीगत लाभ कर दोहोरो अंकमा र्पुयाउन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*