गाडी र मोटरसाइकल मर्मत क्षेत्रको वृद्धिदरमा सुधार, व्यापार सेवा क्षेत्रको योगदानमा पनि वृद्धि

काठमाडौं । नेपालमा गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदरमा सुधार आउने संकेत देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा यो क्षेत्र ३.३० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्षमा भने यो क्षेत्र ०.३६ प्रतिशतले सङ्कुचन भएको थियो। वस्तु आयात तथा कृषि लगायत व्यापारजन्य वस्तुको उत्पादनमा भएको वृद्धिका कारण थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवामा सुधार आउने देखिएको हो।
सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यो क्षेत्रको योगदान पनि बढ्दै गएको छ। गत आर्थिक वर्षमा यो क्षेत्रको योगदान १४.०० प्रतिशत थियो भने चालु आर्थिक वर्षमा १४.५५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
पछिल्लो एक दशकमा गाडी तथा मोटरसाइकल मर्मतसहितको यो क्षेत्रको औसत वृद्धिदर ३.५० प्रतिशत रहेको छ भने जीडीपीमा औसत योगदान १५.०७ प्रतिशत रहँदै आएको छ।













