विदेशमा पढ्न जाने विद्यार्थीलाई थप भार: सरकारले लगायो ३ प्रतिशत सेवा शुल्क

१५ जेष्ठ २०८२, बिहीबार १८:४३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षा सेवा शुल्क असुल गर्ने व्यवस्था गरिएको छ।

विधेयकअनुसार अब विदेशमा पढ्न जाने विद्यार्थीले शिक्षण शुल्क भुक्तानीका लागि विदेशी मुद्राको सटही गर्दा सो सटही रकममा तीन प्रतिशत दरले शिक्षा सेवा शुल्क लाग्नेछ।

यस शुल्कलाई बैंक वा वित्तीय संस्थाले असुल गरी प्रत्येक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने र विवरणसहित राजस्व कार्यालयमा जानकारी पठाउनु पर्ने व्यवस्था गरिएको छ। यदि तोकिएको म्यादभित्र शुल्क दाखिला नभएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले वार्षिक १५ प्रतिशतका दरले ब्याज तिर्नुपर्नेछ।

साथै, सटही सुविधा लिई शिक्षा सेवा शुल्क तिरेका विद्यार्थी विदेशमा पढ्न जान नपरेमा विदेशी मुद्रा फिर्ता गरेपछि तोकिएको प्रक्रिया अनुसार आन्तरिक राजस्व विभागमार्फत शुल्क फिर्ता हुने व्यवस्था पनि विधेयकमा उल्लेख छ।

शिक्षा सेवा शुल्कको सम्पूर्ण प्रशासन आन्तरिक राजस्व विभागले तोकेको मापदण्डअनुसार सञ्चालन हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*