आधा दर्जन वस्तुमा लाग्दै आएको कर खारेज

१५ जेष्ठ २०८२, बिहीबार १९:०८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमार्फत आधा दर्जन वस्तु तथा सेवामा लाग्दै आएको कर तथा महसुल खारेज गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठजन्य उद्योगदेखि डिजिटल भुक्तानी सेवा, खाद्य वस्तु तथा खेलकुद पूर्वाधारसम्मका क्षेत्रमा कर तथा महसुलको छुट प्रदान गरिएको घोषणा गरे ।

अर्थमन्त्री पौडेलका अनुसार काठ तथा काठजन्य सामग्रीको गुणस्तरीय उत्पादन र उपभोग प्रवर्द्धन गर्न काठ सिजनिङ्ग उद्योगमा प्रयोग हुने मिल मेशिनरीको पैठारीमा १ प्रतिशत मात्र भन्सार महसुल कायम गरिनेछ । यसबाहेक अन्य सबै कर तथा महसुल पूर्ण रूपमा हटाइनेछ ।

त्यस्तै, प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि आवश्यक मिल मेशिनरी तथा उपकरण आयात गर्दा लाग्ने भन्सार महसुल तथा अन्य करसमेत खारेज गरिएको छ ।

फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रङ्गशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीको आयातमा पनि १ प्रतिशत भन्सार महसुल मात्र कायम रहनेछ भने बाँकी सबै कर तथा महसुल हटाइने अर्थमन्त्री पौडेलले बताए ।

डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरिएको छ ।  यसबाहेक, खाद्यान्न, गेडागुडी, फलफूल, वनस्पति, पशुजन्य तथा दूधजन्य पदार्थको आयातमा भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम आयकर पनि खारेज गरिएको छ ।

सुनुवाइमा कठिनाई भएका व्यक्तिहरूका लागि आवश्यक श्रवण यन्त्रमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पनि पूर्ण रूपमा हटाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*