व्यवसायीहरु भन्छन्: ‘बजेटले उत्साह थप्यो, अब कार्यान्वयनमा भर पर्दछ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटबारे निजी क्षेत्रका अगुवा, उद्योगपति तथा व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गरेको, अघिल्ला वर्षका जस्तो मनपरी योजनाको पुनरावृत्ति नगरेको तर्क दिएका हुन् ।
अधिकांश ब्यवसायीहरुले बजेटलाई नकारात्मक रुपमा लिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटले बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको समस्यालाई सम्बोधन गर्न खोजेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा पनि सन्तोषजनक ध्यान दिएको बताए । महासंघले सरकारलाई दिएका अधिकांश सुझाव बजेटमा समेटिएको दाबी गर्दै ढकालले भने, ‘तर, सधैंजसो बजेट आउँछ, कार्यान्वयनमा जाँदैन भन्ने डर भने अहिले पनि छ ।’
उनका अनुसार निजी क्षेत्रलाई सरकारले ‘ड्राइभर’ बनाउँदै अघि बढ्ने संकेत दिएको छ जुन सकारात्मक संकेत हो । उनले हालको सरकारप्रति विश्वास रहेको बताउँदै लगानी वातावरण बन्न थालेको र अर्थतन्त्र चलायमान अवस्थामा पुगेको टिप्पणी गरे । यद्यपि, राजस्व संकलनमा भने केही चुनौती रहेको उनको बुझाइ छ ।
सांसद तथा व्यवसायी विनोद चौधरीले बजेट निकै सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘सरकारले नसक्ने योजना नगर्ने स्पष्ट नीति बजेटमा देखिएको छ’ उनले भने, ‘३ करोडभन्दा सानो योजना नराख्ने भन्ने कुरा कार्यान्वयनमा आएको छ ।’
उनका अनुसार आइटी र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ युवालाई विदेशिनबाट रोक्न स्टार्टअपमा ३ प्रतिशत ब्याजदरमा ७६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । डिजिटल बैंक स्थापना, विदेशमा लगानी खुला गर्नु, होटल उद्योगमा कर सम्बन्धी समस्या समाधान गर्नु जस्ता विषयले पनि सकारात्मकता देखाएको चौधरीको भनाइ छ । उनले राजस्व १७ प्रतिशतले बढेको भन्दै आगामी वर्षमा अझ बढी हुने अपेक्षा व्यक्त गरे ।
व्यवसायी दीपक मल्होत्राले बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । उनले बजेटमा कुनै ठूला चुनौती नरहेको बताउँदै, ‘बजेट आयात, अनुदान र आन्तरिक ऋणमा केही चुनौती देखिन्छ, तर समग्रमा यो बजेटको धारणा सकारात्मक छ’ भने ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले उठाएका प्रमुख मागहरू बजेटमा सम्बोधन गरिएको बताएका छन् । ‘हामीले सकारात्मक रूपमा लिएका छौं, अब खर्चको बाटो प्रष्ट हुनुपर्छ’ उनले भने ।
उनका अनुसार राजस्वको लक्ष्यमा भने चुनौती देखिएको छ र विदेशी ऋण व्यवस्थापनमा पनि चनाखो हुनुपर्ने आवश्यकता छ । ‘६ प्रतिशतको आर्थिक वृद्धि दर सम्भव छ’ उनले भने, ‘तर बजेट सफल बनाउन मौद्रिक नीति पनि सोही अनुरूप आउनु जरुरी छ ।’
व्यवसायी राजेन्द्र मल्लले पनि बजेटलाई स्वागतयोग्य भनेका छन् । उनी खासगरी आईटी, कृषि तथा वैदेशिक लगानीमा देखिएको स्पष्टता र खुलापनबाट सन्तुष्ट छन् । ‘सरकारले विदेशमा लगानीको बाटो खोलेको छ, जुन एकदमै स्वागतयोग्य छ’ उनले भने ।
तर उनले बजेटको आकार (१९ खर्ब ६४ अर्ब रुपैयाँ) ठूलो भए पनि आम्दानीतर्फ पर्याप्त सुनिश्चितता नदेखिएको भन्दै खर्चमुखी बजेटको आलोचना गरे । ‘राजस्व चुवावट धेरै छ, त्यसमा नियन्त्रण गर्नैपर्छ’ उनले भने, ‘सरकारसँग हामी पनि साथ दिन तयार छौं, तर उसले कार्यान्वयनमा जोड दिनुपर्छ ।’













