‘राजा फर्काऊ, राष्ट्र जोगाऊ!’ भन्दै भाेलि नारायणहिटी राजदरवार अगाडि प्रदर्शन हुने

काठमाडौँ । राजावादी राजनीतिक दलहरूले आज पनि व्यवस्था विरोधी आन्दोलनलाई निरन्तरता दिएका छन्। काठमाडौंको माईतीघर मण्डलामा उनीहरूले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध जनाएका छन्।
जेठ १५ गतेदेखि सुरु भएको यो आन्दोलनमा राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागसहित विभिन्न दलहरू एकजुट छन्। आगामी शनिबार उनीहरूको प्रदर्शन नारायणहिटी राजदरवार अगाडि हुने बताइएको छ।
प्रदर्शनमा सहभागीहरूले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जागौँ जागौँ, जागौँ न हे नेपाली जनता, पहिला राष्ट्र जोगाउँ जस्ता नाराहरू लगाएका थिए भने विरोध जनाउन विभिन्न प्लेकार्डहरू समेत बोकेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका दलहरू यस आन्दोलनमा सक्रिय छन् र राजतन्त्र पुनःस्थापनाका लागि संघर्ष गरिरहेका छन्।













