सान्भि इनर्जीको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओ यसै साताको अन्तिमतिर बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार अझै केहीकाम बाँकी रहेकोले यसै हप्ताको अन्तिमतिर आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्यपि, बाँडफाँट हुने मिति भने अझै तय भइनसकेको बिक्री प्रबन्धकले बताएको छ ।
यता, सान्भि इनर्जीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १०।७१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा २१ लाख ८ हजार २३२ जनाले कुल २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६६ हजार ७०२ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ पुस ११ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ फागुन १५ गतेसम्म बाहल रहनेछ ।












