जीवन बीमा कम्पनीहरुको व्यवसाय १४ प्रतिशत बढ्यो, राष्ट्रिय जीवन बीमा, रिलायबल, सिटिजन ग्रोथमा अगाडि

१९ जेष्ठ २०८२, सोमबार १९:०९

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय गत बर्षको तुलनामा १४।८४ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

यस अवधिको व्यवसायको आधारमा हेर्ने हो भने नेपाल लाइफ,नेशनल र अग्रस्थानमा रहेको छ भने व्यवसाय वृद्धिको आधारमा हेर्ने हो भने राष्ट्रिय जीवन बीमा कम्पनी, रिलायबल नेपाल र सिटिजन अग्रस्थानमा रहेको छ।

बैशाख महिनासम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।कम्पनीले बैशाख मसान्तसम्ममा ३६ अर्ब ५९ करोड रुपैयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब २० करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका छ भने तेस्रोमा एलआइसी नेपाल रहेको छ।

कम्पनीले यस अवधिसम्ममा १५ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् ।

बैशाख गत बर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीले बीमाशुल्क आर्जन वृद्धि सबैभन्दा धेरै गरेको छ । गत बर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ५० प्रतिशतले वृद्धि भएर ८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ५ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

व्यवसाय वृद्धिमा दोस्रो स्थानमा रिलायबल नेपाल रहेको छ। कम्पनीले गत बर्षको तुलनामा २३ प्रतिशतले आफनो व्यवसाय वृद्धि गरेको छ। गत बर्षको ३ अर्ब ३४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले चालु आवको बैशाख मसान्तसम्मा ४ अर्ब १४ करोड रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ।

तेस्रो स्थानमा सिटिजन लाइफ रहेको छ । कम्पनीले गत बर्षको तुलनामा आफनो बीमा व्यवसाय २०।८३ प्रतिशतले वृद्धि गरेर ५ अर्ब ६८ करोड रुपैयाँ पुराएको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ७० करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो ।
त्यस्तै, व्यवसाय वृद्धिको आधारमा १० प्रतिशतभन्दा मुनि ग्रोथ गर्ने कम्पनीमा एलआईसी नेपाल, मेट लाइफ र हिमालयन लाइफ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*