घर्तिगाउँ हेल्थपोष्टलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोल्पास्थित घर्तिगाउँ हेल्थ पोस्टलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त हेल्थपोष्टलाई बेबी वार्मर प्रदान गरेको हो।
बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन प्रयोगमा आउने गर्छ।
साथै बैंकले स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको पुर्तिघाटस्थित हेल्थ पोस्टमा पनि बेबी वार्मर सहयोग गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको जनाएको छ।

उक्त हेल्थपोष्टहरूमा बैंक सँगको सहकार्य मार्फत् बेबी वार्मर उपकरण जडान गरिसकिएको बैंकले बताएको छ।
बैंकद्वारा आयोजित छुट्टाछ्ट्टै कार्यक्रमका माझ बैंकका मार्केटिंङ्ग, ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीले बेबी वार्मर हस्तान्तरण गरेका हुन्। कार्यक्रममा स्वास्थ्य चौकीहरूका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
साथै अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि दिइएको बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ। जस मार्फत हरेक वर्ष करीब २ हजार २९४ भन्दा बढी शिशुहरूले यो सुविधा प्राप्त गरेका छन्। विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेकोले बैंकले यस्ता मेसिनहरू प्रदान गरेको जनाएको छ।
यस बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आईरहेको छ।












