जीवन बीमा कम्पनीले गरे करीब ३ अर्बको म्यादी बीमा व्यवसाय, अग्रस्थानमा सन नेपाल लाइफ

२१ जेष्ठ २०८२, बुधबार १३:५४

काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायरा बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा बैदेशिक रोजगारी बीमालेखबाट दुई अर्ब ८८ करोड २७  लाख  रुपैयाको कुल बीमा शुल्क आर्जन भएको छ । सञ्चालनमा रहेका ११ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्मको अवधिमा उक्त व्यवसाय गर्न सफल भएका हुन् ।

यस अवधिमा बैदेशिक रोजगार बीमालेखबाट संकलित बीमा शुल्क आर्जनको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो, एशियन लाइफ दोस्रो र नेपाल लाइफ तेस्रो स्थानमा रहेको छ ।

चालु आवको बैशाख मसान्तसम्मको अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले ९८ करोड ६२ लाख रुपैयाँको वैदेशिक रोजगार बीमा गरेको छ । कम्पनीले यस अवधिमा कुल ८ लाख ७९ हजार वटा बीमा पोलिसी बिक्री गरेको छ । सन नेपाल लाइफले वैदेशिक रोजगारको क्रममा विदेश जाने नागरिकको बीमा गरी उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

दोस्रो नम्बरमा रहेको एशियन लाइफले म्यादी बीमालेख आर्जनबाट ७६ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधिमा दुई लाख ५४ हजार बीमालेख बिक्री गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले २० करोड एक लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा पाँच लाख ७८ हजार बीमालेख बिक्री गरेको छ । नेपाली बीमा क्षेत्रमा नेपाल लाइफ सबैभन्दा बढी बीमित भएको कम्पनी हो ।

समीक्षा अवधिमा म्यादि बीमालेखबाट नेशनल लाइफले पनि १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १४ करोड २२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १० करोड १४ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले नौ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, आइएमई लाइफले २० करोड ३१ लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड १४ लाख रुपैयाँ, र प्रभु महालक्ष्मी लाइफले नौ करोड तीन लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

लघु जीवन बीमा कम्पनीहरुले पनि म्यादि बीमा व्यवसाय गरेका छन् । यस अवधिमा लिवर्टी माइक्रो लाइफले एक करोड ३५ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले आठ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफले ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*