घट्यो पुँजी बजारः कारोबार पनि खुम्चियो, नीतिगत सुधार हुँदा पनि किन मार्केट सुस्त ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार लगातार दुई दिन घट्न पुगेको हो । बजेट र मौद्रिक नीतिपछि बजार बढ्ने अपेक्षा भएपनि नेप्से सूचक तल झर्दा लगानीकर्ताको उत्साह कम भएको छ ।
ब्याजदर घटेको, वित्तीय प्रणालीमा पर्याप्त पूँजी रहेको र सेयर मूल्य सस्तो भएपनि बजारमा व्यापक खरिदबिक्री हुन सकेको छैन । बजारमा गति नआउनुको मुख्य कारण ठूला तथा संस्थागत लगानीकर्ताहरूको निष्क्रियता हो । यी लगानीकर्ताहरूले सस्तो मूल्यमा सेयर किन्न रणनीति बनाएका छन् भने साना लगानीकर्ताहरू आत्तिएर प्यानिक सेलमा उत्रिएका छन् । नयाँ बजेटले पुँजी बजारमा प्रत्यक्ष असर नगरे पनि संस्थागत सहभागिता कमजोर रहँदा बजारमा स्थिर वृद्धि आउन कठिन छ ।
मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिमभार घटाएपछि बैंकहरूले कर्जा प्रवाह बढाउने सम्भावना छ । जसले बजारमा माग बढाउने अपेक्षा छ । तर व्यवहारमा त्यसको प्रभाव अझै देखिएको छैन । लगानीकर्ताले धैर्य राखेर वित्तीय अवस्था सबल भएका कम्पनीमा लगानी गर्नुपर्ने र संस्थागत सहभागिता बढाउनुपर्ने सुझाब विशेषज्ञहरूले दिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.८७ अकंले घटेर २६५२.०६ बिन्दुमा कायम भएको छ । आज ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक ०.६२ प्रतिशत, फाइनान्स समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ ।












