दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ

२१ जेष्ठ २०८२, बुधबार १६:१५

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगर २८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी गाउँपालिका ४ घर भई हाल काठमाडौं महानगर ११ बस्ने ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘पक्राउमध्ये प्रविनले अल्बानिया पठाइदिने भन्दै आठ लाख १८ हजार र प्रतिज्ञाले दक्षिण कोरिया पठाउने भन्दै पाँच लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*