उपभोक्ता ऐन उल्लंघन गर्ने ३ उद्योगमा दुई लाख जरिवाना, अन्य ८ संस्थालाई निर्देशन

काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत व्यापार सञ्चालन गरिरहेका ११ वटा उद्योग तथा फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही तथा निर्देशन दिएको छ। बुधबार विभागको टोलीले विभिन्न स्थानमा अनुगमन गरी आवश्यक कारबाही गरेको हो।
विभागले जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रा।लि। (काठमाडौं महानगरपालिका–०१), आइएमएस स्मार्ट प्रालि (काठमाडौं महानगरपालिका–०१) र रोयल वाच कलेक्सन प्रालि (टोखा नगरपालिका–१०) लाई उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको ठहर गर्दै जनही २ लाख रुपैयाँ जरिवाना गरेको छ। त्यसैगरी रेमन्ड गार्मेन्ट (टोखा–१४) लाई ५१ हजार जरिवाना गरिएको छ।
त्यसैगरी अभिनन्दन सिटी सेन्टर, आनन्द ट्रेडिङ कन्सर्न, डिमासा, गणगौर फुड्स एण्ड सर्विसेज प्रालि, सिटी एक्सप्रेस ट्रेडिङ कन्सर्न, एमबिएसएच नेपाल र वसन्त केमिकल्स प्रालिलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार ती व्यवसायीहरू उपभोक्ता संरक्षण ऐनको दफा ३८ र ३९ अन्तर्गतका विभिन्न उपधाराहरू उल्लंघन गरेको पाइयो। ऐन अनुसार व्यवसायले उपभोक्तालाई स्वच्छ, सुरक्षित र सही मूल्यमा वस्तु तथा सेवा दिनुपर्ने कानुनी दायित्व हुन्छ।
त्यस्तै, चन्द्रागिरी–१५ मा रहेको एक व्यवसाय र काठमाडौं–२२ मा रहेको के।एण्ड के। मोबाइल हबलाई उपभोक्ता ऐनको सामान्य निर्देशन मात्र दिइएको छ।













