नबिल बैंकले पायो एसिया–प्रशान्त क्षेत्रको ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’

काठमाडौं । नबिल बैंकले प्रतिष्ठित ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ एसिया–प्रशान्त क्षेत्रका लागि प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय रूपमा बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल सेवा र नेतृत्व क्षमताका आधारमा बैंकले यो अवार्ड पाएको हो।
बैंकका अनुसार प्रविधि तथा डिजिटल सेवामा देखाएको सक्रियता र ग्राहकअनुकूल सेवाको कारण यो सम्मान प्राप्त गरेको हो। विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूह अन्तर्गत पर्ने द बैंकर्सले नबिल बैंकको प्रविधिमैत्री दृष्टिकोण, डिजिटल सेवा विस्तार र ग्राहक सन्तुष्टिमा देखाएको सुधारको मूल्यांकन गर्दै पुरस्कार दिएको हो।
नबिल बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो अवार्डले प्रविधिमा आधारित र ग्राहकमैत्री सेवा दिन अझ प्रेरणा मिलेको बताएका छन्। उनका अनुसार नबिल बैंकले आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र ‘एनबैंक’ एपमार्फत सेवा प्रवाहमा निरन्तर सुधार गर्दै आएको छ।
नबिल बैंकले सन् १९८४ देखि नै नेपालमा पहिलो कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गरी डिजिटल युगको थालनी गरेको थियो। आजसम्म पनि बैंकले ओपन बैंकिङ इनिसिएटिभ, मोबाइल एप तथा अन्य डिजिटल प्रविधिहरूको प्रयोगमार्फत सेवा सुधारमा अग्रणी भूमिका खेल्दै आएको छ।
हाल नबिल बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा दिइरहेको छ। नवीनतम सेवाहरू सुरु गर्दै आएको नबिलले नेपाली बैंकिङ इतिहासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।












