बीमा दाबी सम्बन्धी उजुरी सुनवाई गर्न बीमा प्राधिकरणको इजलास संचालनमा

पेशी सूची र निर्णय वेभसाईटमै हेर्न पाईने
२२ जेष्ठ २०८२, बिहीबार १३:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ ।बीमा प्राधिकरणले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि ईजलाश संचालन गरेको हो । यसअघि बैठक कक्षमा सञ्चालक समितिको बैठकलाई इजलासकै रुपमा सञ्चालन गर्दै मुद्दाको छिनोफानो हुँदै आएको थियो ।

प्राधिकरण संचालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले मिति २०८२र०१र०१ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा ईजलाश संचालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन अनुसार आजदेखि संचालनमा आएको हो ।

साथै प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सुची र निर्णयहरू प्राधिकरणको वेभसाईट डब्लुडब्लुडब्लु एनआईए डट जिओभी डटएनपी मार्फत प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

नयाँ निर्णयसँगै अब बीमितहरुले आफ्नो मुद्दाको पालो कहिले आउनेछ भनेर अनलाईनबाटै पनि थाहा पाउन सक्नेछन् । त्यसैगरी, बीमा कम्पनीहरुले पनि आफ्नो मुद्दा सजिलै थाहा पाउने भएका छन् ।

बीमा प्राधिकरणमा मुद्दाको चाप बढिरहेको सन्दर्भमा नयाँ निर्णयले बीमा सम्बन्धी न्यायिक निरुपण अझै प्रभावकारी हुने विश्वास गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*