पूर्वाधार लगानी कोषको लगानीमा‘अपर म्याग्दी-१’ जलविद्युत् आयोजना अघि बढ्ने

२२ जेष्ठ २०८२, बिहीबार १४:३१

काठमाडौं । नेपाल पूर्वाधार लगानी कोष (एनआईआईएफ) अन्तर्गतको व्यवस्थापक संस्था ग्लोबल इक्विटी फण्ड लिमिटेडले ५३.५ मेगावाट क्षमताको ‘अपर म्याग्दी-१’ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ।

नेपालमा जलविद्युत् उत्पादनको विशाल सम्भावना रहे पनि त्यो पर्याप्तरूपमा उपयोग हुन सकेको छैन। यस्तो अवस्थामा अपर म्याग्दी-१ जस्ता आयोजना आवश्यक रहेको एनआईआईएफको भनाइ छ। आयोजना मार्फत स्वच्छ ऊर्जाको उत्पादन मात्र नभई दीर्घकालीन ऊर्जा सुरक्षामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

‘अपर म्याग्दी-१’ को प्रवर्द्धन ऊर्जा डेभलपर्स नामक कम्पनीले गरिरहेको छ, जसले सन् २०३० भित्र १ गिगावाटसम्मको कार्बन-न्यूट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। यही लक्ष्यलाई साथ दिँदै एनआईआईएफले आयोजना निर्माणमा लगानी गर्न लागेको हो।

एनआईआईएफको लगानी ग्लोबल इक्विटी फण्ड लिमिटेडद्वारा व्यवस्थापन गरिन्छ। यो कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमोदित पहिलो प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल फण्ड म्यानेजर हो। कम्पनीले पूर्वाधार विकासका विविध परियोजनामा आवश्यक पूँजी प्रवाह गरिरहेको छ।

आयोजनामा लगानीको घोषणा पछि ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले एनआईआईएफसँगको सहकार्यमा खुसी व्यक्त गरेका छन्। उनले यस्तो साझेदारीले कम्पनीको दीर्घकालीन दृष्टिकोणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*