एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्या कर्मचारी, कसरी दिने आवेदन ?

२२ जेष्ठ २०८२, बिहीबार १५:२०

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले आफ्नो केन्द्रीय कार्यालय बिर्तामोड, झापा सहित कोशी प्रदेशभर फैलिएको शाखा सञ्जालका लागि दरखास्त मागेको हो।

बैंकले १० जना शाखा प्रबन्धक माग गरेको छ। जुनियर अफिसरदेखि सीनियर अफिसरसम्मको तहमा माग गरिएको शाखा प्रबन्धकका लागि उम्मेदवारले कुनै पनि वाणिज्य बैंकमा कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ। त्यसमध्ये कम्तिमा एक वर्ष शाखा प्रबन्धकको रूपमा काम गरेको अवधि पनि समावेश हुनुपर्नेछ। साथै, मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गरी स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

बैंकले लेखापाल पदका लागि चार जना सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट मागेको छ। उम्मेदवारलाई बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएमा प्राथमिकता दिइने बैंकले जनाएको छ।

रिलेसनसिप म्यानेजर पदमा केही संख्यामा जनशक्ति माग गरिएको छ। सहायक तहका लागि माग गरिएको यस पदमा बैंक तथा वित्तीय संस्थामा कम्तिमा दुई वर्ष काम गरेको र सो अवधिमा कम्तिमा एक वर्ष कर्जा सम्बन्धी कार्यको अनुभव भएको हुनुपर्नेछ। उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ र कम्तिमा ५० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ।

ट्रेनी सहायक पदका लागि पनि केही संख्यामा माग गरिएको छ। खादबारी, धनकुटा, रामपुर, फिदिम, इलाम, मंगलबारे, गौरीगञ्ज, पथरीशनिश्चरे र लेटाङ शाखाका लागि ट्रेनी सहायक माग गरिएको हो। यो पदका लागि नयाँ अर्थात् अनुभव नभएका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्। उम्मेदवारले व्यवस्थापन संकायमा स्नातक तहमा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ। आन्तरिक प्रतिस्पर्धाका लागि चाहिने न्यूनतम योग्यता प्लस टु वा सो सरह मानिनेछ। उमेर भने अधिकतम २८ वर्ष नाघ्न नहुनेछ।

योग्य र इच्छुक उम्मेदवारहरूले आफूले आवेदन दिन चाहेको पद र प्राथमिकता रहेको शाखाको उल्लेख सहित अद्यावधिक विवरणहरू (हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्र, कार्य अनुभव खुल्ने पत्र र सबैभन्दा उच्च शैक्षिक प्रमाणपत्र) को स्क्यान प्रतिलिपिसहित २०८२ साल असार ४ गते साँझ ५ बजेसम्म [email protected] मा इमेल मार्फत दरखास्त दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*