अन्तःशुल्क वृद्धिले सिमेन्ट महँगियो, निर्माण क्षेत्रमा असर गहिरिँदै

काठमाडौं । सरकारले सिमेन्टमा अन्तःशुल्क दर मूल्यको ५ प्रतिशत कायम गरेसँगै सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २० रुपैयाँसम्मले बढेको छ । यसअघि प्रतिटन २ सय २० रुपैयाँ अन्तःशुल्क लाग्ने व्यवस्था थियो तर अब मूल्यको ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने व्यवस्था लागू भएपछि सिमेन्ट महँगिएको हो ।
सिमेन्टको मूल्य ब्रान्ड र प्रकारअनुसार फरक पर्ने भए पनि मूल्य वृद्धि सबै कम्पनीमा लागू भएको छ । सिमेन्ट उद्योगहरू पहिले नै घाटामा रहेको, निरन्तर चलाउन सक्ने अवस्था नरहेको भन्दै मंसिर–पुस २०८१ यता मूल्य क्रमशः बढाउँदै आएका थिए । उद्योगहरूले हरेक २–३ दिनको अन्तरालमा मूल्य बढाउँदै आएका थिए, जसका कारण उपभोक्ताको ढाड सेकिन थालेको छ । मूल्य वृद्धिलाई लिएर सिमेन्ट उत्पादकहरूलाई ‘कार्टेलिङ’ गरेको आरोप पनि लागेको थियो ।
हाल नेपालमा करिब ६५ भन्दा बढी सिमेन्ट उद्योगहरू क्रियाशील छन् । तीमध्ये धेरैजसो उद्योगहरू उत्पादन लागत, ढुवानी खर्च, विद्युत तथा अन्य खर्चका कारण दबाबमा छन् । यस्तो अवस्थामा अन्तःशुल्क थपिएपछि मूल्य समायोजन नगरी उद्योग चलाउन सम्भव नभएको सिमेन्ट उत्पादकहरू बताउँछन् ।
सरकारले उत्पादनमूलक क्षेत्रलाई सहयोग गर्नुपर्ने बेला उल्टो करभार थपेको उद्योगीहरूको गुनासो छ । उनीहरूले उत्पादन वृद्धि र रोजगारी सृजना जस्ता क्षेत्रमा कर छुटको नीति लिनुपर्नेमा सिमेन्टजस्तो आधारभूत निर्माण सामग्रीमा कर वृद्धिले समग्र अर्थतन्त्रलाई असर पार्ने तर्क गरेका छन् ।













