मुक्तिनाथ केबलकार निर्माणमा ५७ अर्ब लगानी स्वीकृत

काठमाडौं । मुक्तिनाथसम्मको ८१ किलोमिटर लामो केबलकार निर्माणका लागि लगानी बोर्डले ५७ अर्ब ६४ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । यससँगै ‘विश्वकै सबैभन्दा लामो’ केबलकार बन्ने योजनाले औपचारिक गति पाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको लगानी बोर्डको ६४औं बैठकले केबलकार परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि पारित गरेको छ । मुक्तिनाथ दर्शन प्रालिद्वारा प्रस्तावित उक्त परियोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भने स्वीकृतिको प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।
लगानी बोर्डले विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शनसँग परियोजना विकास सम्झौता (पीडीए) मस्यौदा तयारी गर्नका लागि सीईओ सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । यस परियोजनाले स्थानीयस्तरमा पर्यटन र रोजगारीमा उल्लेख्य वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ दर्शनले अद्यावधिक डीपीआर २०७९ पुसमा लगानी बोर्डमा बुझाएको थियो । प्रस्तावित केबलकार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किलोमिटर लम्बाइको हुनेछ । हाल विश्वमा सञ्चालनमा रहेका केबलकारमध्ये यति लामो कुनै छैन ।
परियोजना सुरु भएको पाँच वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । सुरुमा परियोजनाको अनुमानित लागत ५५ अर्ब १८ करोड रुपैयाँ थियो, जुन अहिले बढेर ५७ अर्ब ६४ करोड पुगेको हो ।













