स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन उच्च स्तरीय कार्यदल गठन

२२ जेष्ठ २०८२, बिहीबार १९:३७

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन प्रा।डा। प्रदीप वैद्यको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन भएको छ ।

१४ जेठमा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको हो । बोर्डका सुचना अधिकारी विकेश मल्ल ठकुरीका अनुसार समितिका सदस्यमा डा। शर्मा पौडेल, डा। डम्बर खड्का, डा। सन्ध्या चापागाईं, डा। सन्तोष पौडेल र नर्सिङ निर्देशक रोशनी तुइतुइ छन् ।

यसैगरी डा। कालुसिंह खत्री, डा। देवेन्द्रप्रसाद ज्ञवाली, रञ्जना पोखरेल पनि सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा। कृष्णहरि खनाल तोकिएका छन् । समितिलाई प्रतिवेदन बुझाउन ३० दिनको समयावधी दिइएको मल्लले जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित विवरण तथा दर रेट १ भदौ २०८१ देखि लागू गरेको थियो ।

‘समय सापेक्ष दर लागू नभएको विभिन्न निकायबाट सुझाव प्राप्त भएको छ,’ मल्लले अनलाइनखबरसँग भने, ‘सेवा प्रदायक संस्थाले पनि प्याकेजको दर परिमार्जन गर्नुपर्ने सुझाव दिएसँगै समितिको गठन गरेका हौं ।’

कतिपय सुविधाहरू बजार मूल्यभन्दा धेरै महंगो कतिपय धेरै सस्तो भएको भएको गुनासा आएको उनले बताए । हाल प्याकेजको आधारमा तय गरेको औषधि बीमा मार्फत १२८९ औषधि पाइन्छ ।

‘वैज्ञानिक अध्ययन गरेर परिमार्जन गर्नुपर्ने आवश्यकता देखियो । सुविधा थैली, भुक्तानी, दाबी समेतको सुझाव समितिले दिनेछ,’ मल्लले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*