ट्रम्प र मस्कबीच जुहारी: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट

२३ जेष्ठ २०८२, शुक्रबार १२:१३

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने चेतावनी दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर मूल्य १४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

ट्रम्पले मस्कलाई हालै सरकारी खर्च कटौतीको जिम्मेवारी हुने निकायको प्रमुखमा नियुक्त गरेका थिए। तर मस्कले उक्त जिम्मेवारीबाट बाहिरिएपछि उनीहरूबीचको मतभेद झन् चर्किएको हो। त्यसयता सामाजिक सञ्जालमा दुवैले एकअर्काविरुद्ध तीव्र प्रतिक्रिया जनाउँदै आएका छन्।

ट्रम्पको कर सम्बन्धी नीतिको आलोचक बनेका मस्कलाई ट्रम्पले ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरेका थिए। जवाफमा मस्कले आफू नभएको भए ट्रम्प सन् २०१6 को चुनावमा जित्ने थिएनन् भन्ने दाबी गर्दै ट्रम्पले विश्वासघात गरेको आरोप समेत लगाएका छन्।

मस्कले यससँगै नयाँ राजनीतिक पार्टी गठनको संकेत पनि दिएका छन्। उनले त्यसका लागि जनमत जुटाउन थालिसकेको बताएका छन्। ‘अब नयाँ बाटो खोल्ने बेला भएको छ,’ मस्कले सामाजिक सञ्जालमा लेखेका छन्।

ट्रम्पले मस्कसँगको सम्बन्धप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै भनेका छन्, ‘मस्कसँग मेरो राम्रो सम्बन्ध थियो। अब त्यो कहाँ पुग्छ मलाई थाहा छैन। म उनीबाट निकै निराश छु।’

ट्रम्पको चेतावनीपछि मस्कले स्पेस एक्स कम्पनीमार्फत अन्तरिक्षमा पठाइँदै आएको ‘ड्रागन’ यानको कार्यक्रम बन्द गर्ने घोषणा समेत गरेका छन्। मस्कको स्वामित्वमा टेस्ला, स्पेस एक्स, एक्स (साविक ट्वीटर) लगायतका प्रविधि कम्पनीहरू छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*