नीतिमा उज्यालो, बजारमा अँध्यारो: लगानीकर्ताको मनोबल कहाँ हरायो ?

२३ जेष्ठ २०८२, शुक्रबार १६:४५

काठमाडौँ । पछिल्ला समय शेयर बजार सुधारको प्रतीक्षा गरिरहेका लगानीकर्ताको मनमा आशा र निराशाबीचको द्वन्द्व चलिरहेको छ । मौद्रिक नीति र बजेटमार्फत पुँजी बजार अनुकूल बनाउने विभिन्न कदमहरु चालिए पनि त्यसको सकारात्मक असर तत्काल देखिन सकिरहेको छैन । कारोबार रकम खुम्चि रहेको छ, सूचक स्थिर र लगानीकर्ता लगानी गर्ने हिच्किचाएका छन् । बजार लामो समयदेखि साइडवेज ट्रेन्डमै अल्झिएको छ ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा लगाइएको जोखिमभार घटाएको छ। यसअघि लामो समयदेखि लगानीकर्ताहरूले बजारको वृद्धिमा बाधकको रूपमा देख्दै आएको उक्त व्यवस्थामा सहजता ल्याइए पनि यसले बजारमा अपेक्षित सकारात्मक प्रभाव पार्न सकेको छैन। पछिल्लो समय बैंकहरूको ब्याजदरमा क्रमिक गिरावट आएको छ, बैंकिङ प्रणालीमा तरलता बढेको छ, जुन सबै उपायले शेयर बजारलाई चलायमान बनाउने आधार प्रदान गर्दछन्।

तर, व्यवहारमा यस्ता नीतिगत परिवर्तनहरूले तत्काल प्रभाव नदेखाउनुका पछाडि ठूला तथा संस्थागत लगानीकर्ताहरूको निष्क्रियता प्रमुख कारण मानिएको छ। संस्थागत लगानीकर्ता अझै पनि पर्ख र हेरको रणनीतिमा रहेका कारण बजारमा पर्याप्त कारोबार र उत्साह देखिन सकेको छैन। बजारको सुधारका लागि सरकारी नीतिगत प्रष्टता, लगानीकर्ताको विश्वास पुनःस्थापना र संस्थागत लगानीको सक्रियतामा निर्भर रहेको उल्लेख गरिन्छ।

साना लगानीकर्ताले कुनै नीतिगत परिवर्तन देख्दा तुरुन्त प्रतिक्रिया गरेको पाइन्छ । तर बजारको दिशा बदल्न त्यत्तिले पुग्दैन । संस्थागत लगानीकर्ताको सक्रियताबिना बजारको समग्र अवस्था परिवर्तन हुने सम्भावना अत्यन्तै न्यून हुन्छ । यही अवस्था अहिले नेपाली शेयर बजारमा देखिएको छ । पछिल्ला १० महिनादेखि नेप्से स्थिर छ । बजारले खासै उकालो चढ्न सकेको छैन । कहिलेकाहीं एकाध कम्पनीमा अलि सुधार देखिए पनि समग्रमा सूचक चलायमान हुन सकेको छैन । न त अत्यधिक गिरावट देखिएको छ, न नै बलियो उकालो चढ्ने संकेत देखिएको छ । यस्तो निष्क्रिय र अनिर्णयको अवस्थामा लगानीकर्ताहरू अझ बढी निराश बनेका छन् ।

बजारमा अहिले कुनै प्यानिक सेल देखिएको छैन तर जोशिलो खरिद पनि देखिँदैन । क्रेता र बिक्रेता दुवै पक्ष निष्क्रिय देखिनु बजारको स्वभाविक गतिमा बाधा बन्न पुगेको छ । केही समययता बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव, बाफिया ऐनका सम्भावित संशोधनजस्ता विषयले बजारमा नकारात्मक संकेत दिएको विश्वास धेरै लगानीकर्ताले गरिरहेका छन् । तर यस्ता विषयहरू पहिले पनि बजारमा बारम्बार आएका हुन् र अल्पकालीन असर मात्र पार्छन् ।

ठूला लगानीकर्ताहरु अझै अकुमुलेसन फेजमा छन् । उनीहरु अवसरको प्रतीक्षा गरिरहेका छन् । बजारमा पर्याप्त स्टक संकलन गरेपछि मात्र उनीहरू आक्रामक खरिद गर्ने अनुमान गरिएको छ । साना लगानीकर्ताको धैर्यता अहिलेको प्रमुख शक्ति हो । बजार स्थिर हुँदा घबराएर प्यानिक सेल गर्नु झन घाटाको कारण बन्न सक्छ । त्यसैले आर्थिक अवस्था बलियो भएका कम्पनीहरुमा लगानी गरी होल्ड गर्न सक्ने क्षमता हुन जरुरी छ । बजारमा नयाँ लगानीकर्ता भित्रिनु र पुराना लगानीकर्ताको मनोबल उच्च राख्न कार्यक्रम ल्याउनु आजको आवश्यकता हो । लगानीकर्तालाई बजारमा विश्वस्त गराउने खालका सूचना तथा शिक्षा अभियान सञ्चालन गर्न सकेमा माग पक्ष सबल बन्ने विश्वास जानकारहरुको छ ।

संस्थागत लगानीकर्ताहरूको सक्रियताले बजारको गतिको दिशा गरेको हुन्छ । उनीहरूले आक्रामक खरिद नगर्दा बजार स्थिर रहन्छ । बजारमा नीतिगत सुधार हुँदा पनि सकारात्मक प्रतिक्रिया नआउनुका पछाडि यही निष्क्रियता छ । बैंकहरूले कर्जा दिन तयार भए पनि त्यो कर्जा लगानी गर्न चाहनेको संख्यामा वृद्धि नहुनु चिन्ताको विषय हो । शेयर कर्जा बढ्दै जाँदा बजारमा माग पनि बढ्छ । माग बढेपछि मूल्य बढ्ने, सूचक माथि जाने र लगानीकर्ताको मनोबल बलियो हुने चक्र चल्छ । तर त्यो चक्र सुरु हुन अझै केही समय लाग्न सक्छ । लगानीकर्तालाई तत्काल लाभको आशामा गल्ती नगर्न विज्ञहरूको सुझाव छ ।

यो साता कस्तो भयो ?

यो साताको शेयर कारोबार चार दिन मात्र सीमित रह्यो, जुन अघिल्लो साताको जस्तै हो। तर बजारको चाल हेर्दा यसपटकको व्यापारिक गतिविधि अपेक्षाकृत कमजोर देखिएको छ। चार दिनको कारोबारमा बजारले तीन दिन नकारात्मक दिशा लिँदा, केवल एक दिन मात्र थोरै अंकले वृद्धि देखियो। अघिल्लो साता नेप्से परिसूचक २,६९३.०६ अंकमा बन्द भएको थियो भने यो साता अन्त्यमा घट्दै २,६४०.९६ अंकमा झरेको छ। परिणामस्वरूप यो साताभर ५२.१० अंकको गिरावट आएको हो  । अघिल्लो सातामा मात्र ४.५१ अंकले वृद्धि भएको थियो।

सप्ताहभर भएको शेयर कारोबारको परिमाण पनि घटेको छ। यो साता चार दिनको कारोबारमा जम्मा २९ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो जुन अघिल्लो साताको ३० अर्ब ३० करोड रुपैयाँको तुलनामा कम हो। बजार पूँजीकरण पनि घटेर ४३ खर्ब ९९ अर्बमा झरेको छ, जुन अघिल्लो साता ४४ खर्ब ८३ अर्ब थियो।

बजारमा आएको गिरावटका कारण लगानीकर्ताहरूको कुल सम्पत्तिमा करिब ८४ अर्ब रुपैयाँको क्षति भएको छ।

नोटः प्रकाशित समाचार लगानीकर्ताको विचार र तर्कमा आधारित हो । कुनै पनि कारोबारको लागि सिफारिस होइन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*