कामको गति बढाउन मन्त्री भण्डारीको निर्देशन: ‘साउनमै बजेट आउँछ, कार्यान्वयन ढिला किन?’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई योजनाको कार्यान्वयनमा गति दिन निर्देशन दिएका छन्। शुक्रबार बैतडीको पाटनमा आयोजित जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले समयमै बजेट आइसक्दासमेत योजनाको ढिलो कार्यान्वयन हुनु आपत्तिजनक रहेको बताए।
मन्त्री भण्डारीले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लास्थित कार्यालयहरूको समष्टिगत खर्च ५० प्रतिशतमै सीमित भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। ‘आर्थिक वर्षको पहिलो महिना साउनमै बजेट आइपुग्छ, कार्यान्वयन आठ–नौ महिना किन लाग्छ?’ भन्दै उनले योजना सुरुवातमै अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले विकासे कार्यालयहरूमा दायित्व सार्ने प्रवृत्तिले अपेक्षित परिणाम नआएको उल्लेख गर्दै विगतका दायित्वहरू पूरा गर्न खर्चिनु परेकोले नयाँ काम अघि बढाउन समस्या भइरहेको बताए। पुरानो भुक्तानी दिनुपर्ने विषयमा भने गुणस्तर र मापदण्डको आधारमा मात्रै प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।
यसै क्रममा मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई जिल्लाभरका विकासे कार्यालयमा दिन बाँकी भुक्तानीहरूको सूची तयार पार्न निर्देशन दिए। साथै, उनले मनसूनजन्य सम्भावित विपदका जोखिमहरूलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी गर्न पनि निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले विगतको अनुभवलाई आधार बनाउँदै विपद् व्यवस्थापनका लागि तयारी भइरहेको जानकारी दिए।












