सार्वजनिक लेखा समितिले गर्यो यस्ता निर्णयहरु

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए ।
बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।
यस्तै, बेरुजु फरछ्यौटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको, कार्यालय, नगरपालिका र गाउँपालिका महासंघका प्रतिनिधि सहभागी हुनेछन् ।
सभापति पोखरलेले बेरुजु फर्छ्यौटमा स्थानीय तहदेखि संघसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा रायसुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिए ।
बैठकले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन समितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकामा स्वीकृत प्रदान गरेको छ ।













