शिक्षा, सीप र समृद्धिको अभियानमा प्रियंका भण्डारी : अनेरास्ववियु सचिवमा उम्मेदवारी

२६ जेष्ठ २०८२, सोमबार १०:०५

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय महाधिवेशनमा प्रियंका भण्डारीले सचिव पदमा उम्मेदवारी दिने भएकी छन्। विद्यार्थी आन्दोलनमा लामो समयदेखि सक्रिय रहिएकी भण्डारीले आफ्नो राजनीतिक र सामाजिक यात्रालाई संगठनमा योगदान दिने महत्वपूर्ण अनुभवको रूपमा प्रस्तुत गरेकी हुन्।

उनले आफू सचिवमा निर्वाचित भए विद्यार्थी संगठनलाई व्यवहारिक शिक्षा, उत्पादनशील सोच र सामाजिक रुपान्तरणमा केन्द्रित बनाउने बताएकी छन्। ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौं, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अघि बढौं’ भन्ने मूल नाराका साथ उनले अभियान अघि बढाएकी हुन्।

संगठनको स्थानीय तहदेखि केन्द्रीय तहसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभव उनले सचिव पदको जिम्मेवारी सम्हाल्न सक्षम बनाउने दाबी गरेकी छन्। उनका अनुसार विद्यार्थी आन्दोलन केवल नारामा सीमित नभई देश निर्माणको मेरुदण्ड हुनुपर्छ। उनले अनेरास्ववियुमा युवाको नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक न्याय र समावेशी शिक्षाको पक्षमा ठोस नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रियंका भण्डारीले विद्यार्थी संगठनलाई व्यवहारिक र परिणाममुखी बनाउन नयाँ सोच र ऊर्जाका साथ अघि बढ्ने योजना बनाएकी छन्। उनले आफ्नो उम्मेदवारी केवल पदको आकांक्षा नभई विद्यार्थीहरूलाई राष्ट्र निर्माणको नेतृत्वमा उभ्याउने उद्देश्यका साथ अघि सारेको बताउँदै प्रतिनिधिहरूसँग समर्थनको अपिल गरेकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*