चार हाइड्रोपावर कम्पनीको ‘लकइन’ अवधि सकिदै

काठमाडौं । असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ ।
लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने जोखिम हुने भएकाले कम्पनीले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छन् ।
विन्ध्यबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको असार महिनामा लकइन अवधि सकिन लागेको हो ।
विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमा असार २ गते लकइन अवधि समाप्त हुने भएको छ ।
त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभवित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरमा असार ७ गते लकइन अवधि सकिने भएको छ ।
हिमालयन हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरमा असार २७ गते लकइन अवधि सकिँदैछ ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरमा असार २९ गतेदेखि लकइन अवधि सकिने भएको छ ।












