श्रीमतीको नाममा भ्रष्टाचारको रकमले जग्गा र शेयर खरिद तथा घर निर्माण गर्ने इन्जिनियर विरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका महतोसँग ४ करोड ५८ लाख ९७ हजार ४०३ रूपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारका अनुसार रामबाबुले महानगरमा २०४६ वैशाख १९ देखि २०७८ साल फागुन २० सम्म काम गरेको अवधिमा उनको आय र व्यय अमिल्दो देखिएको र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको छ ।
३२ वर्षको उनको जागिर अवधिमा ३ करोड ३७ लाख ७९ हजार ४ सय रूपैयाँको मात्र स्रोत खुलेको र उनको सम्पत्ति एवं खर्च तथा लगानी ७ करोड ९६ लाख ७६ हजार ८०४ रूपैयाँ देखिएकाले ४ करोड ५८ लाख ९७ हजार ४०३ रूपैयाँ अवैध रकम बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
इन्जिनियर रामबाबुले गैरकानूनीरूपमा कमाएको सम्पत्तिबाट श्रीमती माला कुमारी महतोको नाममा र बैङ्क मौज्दात समेत देखिएकाले जफत गर्ने प्रयोजनार्थ मालालाई पनि प्रतिवादी बनाइएको छ ।













