अस्पताल निर्माणको टेण्डरमा भ्रष्टाचार, प्रदेशसभा सदस्यसहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौं । धनुषाको औरही गाउँपालिकामा बन्न लागेको १५ शैय्याको प्राथमिक अस्पताल निर्माण सम्बन्धी टेण्डरमा भ्रष्टाचार भएको खुलेको छ।
यसमा संलग्न भएको आरोपमा मधेश प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र कुमार ठाकुर, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको छ।
आर्थिक वर्ष ०७७/७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमअनुसार औरही–२ स्थित देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माण गर्न करीब २४ करोड ४४ लाख रुपैयाँ लागत अनुमानसहितको टेण्डर आह्वान गरिएको थियो।
तर टेण्डर प्रक्रियामा संलग्न पदाधिकारी र निर्माण व्यवसायीहरूको मिलेमतोमा टेण्डरका केही शर्तहरूमा चलखेल गरी प्रतिस्पर्धालाई सीमित बनाएको पाइएको छ।
२०७८ साल वैशाखमा प्रकाशित गरिएको ठेक्का सूचना अनुसार अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरियो। तर बोलपत्रमा अस्वाभाविक चलखेल गरेर सेटिङमा आफूले चाहेको मान्छेलाई ठेक्का पारेको खुलेको छ।
ठेक्काका लागि आवेदन दिएका १५ कम्पनीमध्ये १३ वटा कम्पनीहरूलाई प्राविधिक मूल्याङ्कनमा असफल घोषित गरिएको पाइएको छ।
सबैभन्दा कम लागतमा प्रस्ताव १२ करोड ३५ लाख रुपैयाँ पेश गर्ने प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभीलाई चलखेल गरेर थपेको शर्तलाई आधार बनाएर अस्वीकृत गर्दै तुलनात्मक रूपमा धेरै रकम १९ करोड १४ लाख रुपैयाँ कबोल गर्ने लुम्बिनी/डि. एण्ड एन. जेभीलाई छनौट गरिएको पाइएको छ।
यसरी ६ करोड ७९ लाख १२ हजार रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो।
uyzXeL










