२५ वटा नक्कली भौचर र बिल देखाएर ६ लाख झ्वाम, ३ वर्षपछि अख्तियारको फन्दामा

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका १० मा पर्ने रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीले नक्कली भौचर र बिल देखाएर ६ लाख ३६ हजार रुपैयाँ झ्वाम पारेको खुलेको छ।
उक्त वन उपभोक्ता समितिले वनबाट उठेको रकम नेपाल बैंक लिमिटेडको जाजारकोट शाखामा जम्मा गर्दै आएको थियो। उक्त खाताबाट २०७८ साल चैत २० गते अध्यक्ष शाहीले चेक काटेर खाताबाट ७ लाख रुपैयाँ झिक्न लगाएर आफैंले राखेका थिए।
उनले खाताबाट झिकेको सामुदायिक वनको ७ लाख रकममध्ये ६३ हजार ९५३ रुपैयाँ राजस्व तिर्न र लेखापरीक्षण लगायत नियमित काममा खर्च गरेको खुलेको छ।
अन्य रकमको हकमा भने उनले राजस्व तिरेको भनेर कृषि विकास बैंकको १४ वटा नक्कली भौचर, कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराएको भनेर ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनेर १ वटा नक्कली बिल र धौलागिरी रेष्टुरेन्टको ३ वटा नक्कली बिल पेश गरेर खर्च भएको देखाएका थिए।
उनले नक्कली बिल पेश गरेको आशंका भएपछि अध्यक्ष शाहीले वन समूहको रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजूरी परेपछि अख्तियारले छानबीन गरेको थियो। छानबीनमा नक्कली बिल देखाएर खर्च भयो भनेको बाँकी रकम भने उनले आफैंले प्रयोग गरेर सकाएको खुलेको छ।
यसरी उनले विभिन्न नक्कली कागजात खडा गरेर सामुदायिक वन उपभोक्ता समूहको ६ लाख ३६ हजार रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।











