एसईई दिएका विद्यार्थीका लागि वेबसाइट बनाउने प्रतियोगिता शुरूः विजेतालाई ल्यापटप पुरस्कार

२८ जेष्ठ २०८२, बुधबार १३:३०

काठमाडौं । सूचना प्रविधिमा रुचि राख्ने एसईई दिएका विद्यार्थीहरूका लागि लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको ‘वेबसाइट प्रतियोगिता’ शुरू गरेको छ।

यस प्रतियोगितामा २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि मात्र खुला गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने र इच्छुक विद्यार्थीहरूले आफ्नो सिर्जनामा आधारित वेबसाइट बनाएर जेठको अन्तिम साता भित्र बुझाउनु पर्ने आयोजकले बताएको छ।

लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलले प्रतियोगिता केवल वेबसाइट बनाउने अभ्यास मात्र नभएर जीवन बनाउने प्लेटफर्म भएको बताए।

कार्यक्रम संयोजक लक्ष्मी खत्रीले प्रतियोगिताबाट प्राविधिक सीप, आत्मप्रस्तुती र सार्वजनिक प्रस्तुतीकरण सिक्न सकिने बताइन्। सहभागी सबै विद्यार्थीलाई प्राविधिक अभिमुखीकरण, मार्गदर्शन सामग्री र युनिक कोड उपलब्ध गराइने र यसैको आधारमा मूल्याङ्कन गरिने बताइन्।

उत्कृष्ट २० मा परेका विद्यार्थीहरूबाट एक जनालाई मुख्य विजेता घोषणा गरेर ल्यापटप पुरस्कार दिने आयोजकले बताएको छ। अन्य उत्कृष्ट स्थान प्राप्त गर्नेहरूले पेन्ड्राइभ र अन्य सूचना प्रविधिसम्बन्धी सामग्री पुरस्कारस्वरूप पाउनेछन्।

लाइफ कम्प्युटरले २०६८ सालदेखि सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको छ। वेबसाइट प्रतियोगिता भने २०७४ सालदेखि आयोजना हुँदै आएको हो। गत वर्ष सिजन ६ मा १ हजार १०२ विद्यार्थी सहभागी भएका थिए र मुख्य विजेता योगेश स्माली भएका थिए।

प्रतियोगिताको अन्तिम परिणाम असारको दोस्रो सातामा एक भव्य कार्यक्रममार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ। इच्छुक विद्यार्थीहरूले लाइफ कम्प्युटरको कार्यालयमा वा अनलाइनमार्फत जानकारी लिएर सहभागी हुन सक्ने पनि आयोजकले बताएको छ।

प्रतियोगिताले विद्यार्थीको सिर्जनात्मकता, आत्मविश्वास र व्यवहारिक क्षमता विकास गर्न मद्दत गर्ने आयोजकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*