तनहुँको घिरिङ गाउँपालिकामा बीमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले जेठ २८ गते बुधबार तनहुँको घिरिङ गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता प्राधिकरणका प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले गरेका थिए भने प्रमुख अतिथिको रूपमा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा थिए। उपाध्यक्ष राधा देवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, किसान, व्यवसायी, बीमा कम्पनीका शाखा प्रमुखहरू लगायत सरोकारवालाहरूको उपस्थिती थियो। बीमा प्राधिकरणकी सहायक निर्देशक कविता पाण्डेले कार्ययोजना प्रस्तुत गरिन् भने सहायक प्रथम बलराम लामिछानेले कार्यक्रम संचालन गरे।
पालिकाका अध्यक्ष थापाले बीमा सम्बन्धी जानकारी आफैं खोजेर जान्नुपर्ने भए पनि बीमा प्राधिकरणको टोली गाउँमै आएर प्रशिक्षण दिएकोमा धन्यवाद दिंदै आगामी आर्थिक वर्षमा पालिकाले बीमा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

उपाध्यक्ष अधिकारीले बीमा गर्दा कानुनी प्रक्रिया पालना गर्नु जरुरी रहेको बताउँदै आफ्नो अनुभव साझा गरिन्। उनले आफ्नो मोटरसाइकल दुर्घटनामा परेको तर ड्राइभिङ लाइसेन्स नभएर दाबी नपाएकाले कानून नमिचिकन ढुक्क भएर बीमा गर्न अनुरोध गरिन्।
प्रमुख प्रशासकीय अधिकृत ढकालले जीवन बीमाको प्रतिफलबारे जिज्ञासा राखे। त्यसैगरी कृषि बीमाको लागि जिम्मेवार बीमा कम्पनी आईजीआई प्रुडेन्सियल दमौली शाखाका प्रमुख गोविन्द श्रेष्ठले पालिकाको अनुरोधमा बीमाका सुविधा दिने प्रतिवद्धता जनाए।
समापन मन्तव्यमा शम्भु प्रसाद मिश्रले पालिकाले बीमा नीति तथा कार्यक्रम बनाउँदा प्राधिकरणबाट पूर्ण सहयोग रहने बताउँदै आगामी वर्षको पालिकाको बजेटमा बीमा कार्यक्रम समावेश हुनेमा विश्वास व्यक्त गरे।














