मधेश प्रदेशका सांसद सिंह अख्तियारद्वारा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सभा सदस्य सरोज कुमार सिंहलाई पक्राउ गरेको छ।
विभिन्न उपभोक्ता समिति बनाएर त्यस्तो समितिको खातामा जम्मा भएको रकम झिकेर अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि अख्तियारले उनलाई पक्राउ गरेको हो।
सांसद सिंहले समितिको रकम आफ्नो स्वकीय सचिव बिनोद लाल कायस्थमार्फत् झिक्न लगाएर आफ्नो र श्रीमतीको खातामा हाल्ने गरेको पाइएपछि कायस्थलाई गत जेठ १२ गते नै पक्राउ गरेको थियो।
त्यसपछि अख्तियारले सांसद सिहंको घरमा छापा हानेर मोबाइल लगायतका विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक छानबीनमा उनले शुरूमा आफ्नो र श्रीमतीको खातामा रकम हाल्न लगाएर स्वकीय सचिव कायस्थको खातामा समेत पठाउने गरेको खुलेपछि अख्तियारले सांसद सिंहलाई पनि पक्राउ गरेको हो।
स्वकीय सचिव पक्राउ परेपछि काठमाडौं आएका सिंहलाई अख्तियारले जेठ २९ गते साँझको करीब ६ बजे काठमाडौंको रत्नराज्य स्कूल नजिकैबाट पक्राउ गरेको हो।
उनी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित मधेश प्रदेशका सभा सदस्य हुन्।











