घुस लिएर ट्रायल फेल भएकालाई लाइसेन्स वितरणः बिचौलिया सहित एकजना कर्मचारी पक्राउ, ३१ थान मोबाइल बरामद

१ असार २०८२, आईतवार १३:३१

काठमाडौं । चितवनको भरतपुरस्थित यातायात व्यवस्था कार्यालयमा ट्रायल फेल भएकालाई पनि घुस लिएर लाइसेन्स वितरण गर्ने गरेको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ३० गते शुक्रबार बिचौलिया सहित एकजना सरकारी कर्मचारीलाई पक्राउ गरेपछि यो प्रकरण सतहमा आएको हो।

अख्तियारमा यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख सहित सरकारी कर्मचारीहरू र महालक्ष्मी, गुरुङ र कुमार ड्राइभिङ सेन्टरका सञ्चालकको सेटिङमा ट्रायल फेल भएकालाई पनि घुस लिएर लाइसेन्स वितरण गरेको भन्ने उजूरी परेपछि अनुसन्धान थालेको थियो।

उजूरीमा ट्रायल फेल भएकाले लाइसेन्स लिन चाहेको वर्ग अनुसार १५ हजारदेखि २५ हजारसम्म घुस उठाएको समेत उल्लेख गरिएको थियो।

उजूरीको आधारमा खटिएको अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयमा छापा हानेको थियो। छापा हान्ने क्रममा कार्यालयका सहायक (पाँचौं) ईन्द्रजीत गुरुङको कार्यकक्षमा १ लाख ८५ हजार घुस रकम सहित बिचौलिया सुरज पाठक समेत पक्राउमा परेका छन्।

अख्तियारले छापा हानेर उक्त कार्यालयका प्रमुख विष्णु भट्टराई सहित अन्य सरकारी कर्मचारीहरू र ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत मोबाइल सहितका अन्य विद्युतीय उपकरण जफत गरेको छ।

बरामद गरेको उपकरणमा मोबाइल मात्रै ३१ थान रहेका छन् भने २ थान ल्यापटप र अन्य कागजातहरू समेत रहेको अख्तियारले जानकारी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*