चीन जोड्ने तातोपानी नाका अवरुद्ध

१ असार २०८२, आईतवार १३:५१

काठमाडौँ । चीनसँग सिधा जोडिने प्रमुख अन्तर्राष्ट्रिय राजमार्ग फेरि अवरुद्ध बनेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत पर्ने कोदारी क्षेत्रमा आइतबार बिहान सडक भासिएपछि तातोपानी नाका हुँदै चल्ने सवारी आवागमन र मालवाहक ढुवानी पूर्णरूपमा ठप्प भएको हो।

शनिबार रातिदेखि जारी अविरल वर्षाका कारण राजमार्गको संरचना कमजोर भई सडक भास्सिएको जनाइएको छ। यस सडक खण्डबाट दैनिक रूपमा चल्ने कन्टेनर तथा सीमावर्ती व्यापारिक गतिविधिमा यसले ठूलो असर पारेको छ।

भास्सिएको खण्डमा यातायात चल्न नसकेपछि तातोपानी नाका भएर हुने आयात–निर्यातसमेत स्थगित भएको छ।

भासिएको सडक खण्ड पुनः सञ्चालनमा ल्याउन तत्काल चुनौतीपूर्ण हुने स्थानीय प्रशासनले जनाएको छ। आवश्यक उपकरण र श्रमिक परिचालनका लागि मौसमले समेत साथ नदिएकाले वैकल्पिक उपाय अपनाउन कठिन भइरहेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*